बज्र मादी जलविद्युत आयोजनामा एनएमबि बैंक र कृषि विकास बैंकले ऋण लगानी गर्ने

शनिबार, २७ बैशाख २०८२

काठमाडौँ – एनएमबि बैंकको अगुवाईमा बैंकहरुले बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन गर्ने भएका छन् । एनएमबि बैंक, कृषि विकास बैंक र बज्र इनर्जी भेन्चर्स प्रा. लि. बीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित परियोजनामा ऋण लगानी गर्ने विषयमा सम्झौता भएको छ ।

२४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत ५ अर्ब ३५ करोड रहेको छ । यो परियोजनामा बैंकहरुले ३ अर्ब ७४ करोड ५० लाख ऋण लगानी गर्ने भएका छन् । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि.स. २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनामा पनि एनएमबि बैंकको अगुवाईमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ ।