कोरियाको एनओसी खोल्न इक्यानको माग
काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले कोरिया अध्ययनका लागि सरकारले रोकेको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) तुरुन्त खोल्न माग गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै इक्यानले दक्षिण कोरियासँग सम्बन्धित समस्याको नाममा एनओसी रोक्ने कार्य तुरुन्त बन्द गर्न माग गरेको हो ।
इक्यान अध्यक्ष शेषराज भट्टाईद्वारा जारी विज्ञप्तिमा पर्याप्त छलफल र तथ्यगत आधारबिना एनओसी रोक्दा विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव परेको जनाइएको छ । विज्ञप्तिमा शैक्षिक परामर्श संस्था र शिक्षा मन्त्रालयबीच समन्वय गरी पारदर्शी प्रक्रिया स्थापना गरि नेपाली विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने अधिकार सुरक्षित रार्न माग गरिएको छ ।
नेपाली विद्यार्थीको अन्तर्राष्ट्रिय शिक्षा प्राप्त गर्ने अधिकार नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हक भएको बताउँदै विद्यार्थीको यो अधिकारमाथि अनावश्यक अवरोध सिर्जना गर्नु संविधान, मानव अधिकार र समावेशी शैक्षिक नीतिको उल्लंघन भएको इक्यानको ठहर छ । दक्षिण कोरियास्थित नेपाली दूतावासको पत्रमा परामर्श संस्थाहरूलाई “झुटा आश्वासन दिने”, “विद्यार्थीलाई ब्रेनवास गर्ने”, “कोरियाली समाजमा घुलमिल हुन नसक्ने विद्यार्थी पठाउने” र “ब्ल्याकमेल तथा मानसिक समस्या निम्त्याउने” जस्ता गम्भीर, अतिरञ्जित र प्रमाणविहीन आरोपका आधारमा एनओसी बन्द गर्नु सरकारका गैरजिम्मेवारी कार्य भएको इक्यान ठहर छ ।
शिक्षा मन्त्रालयले कोरियास्थित दूतावासको आग्रह, परराष्ट्र मन्त्रालयको सुझावपछि कोरियामा स्नातक अध्ययनका लागि चाहिने एनओसी रोकेको थियो । एनओसी राक्दा हजारौँ विद्यार्थी प्रभावित भएका छन् ।
