काँग्रेसीहरुबीच हानाहान, तीन जनाको टाउको फुट्यो

शनिबार, ३ जेष्ठ २०८२

काठमाडौं—काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला पक्षबीच झडप भएको छ । लमजुङको बेशिसहरमा भएको झडपमा चार जना घाइते भएका छन् । नेपाल तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा दुई पक्षबीच हानाहान भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा— टकराज गुरुङसहभागी कार्यक्रममा झडप भएको हो ।

अधिवेशनमा मनोनयन दर्ताको क्रममा टकराज गुरुङको पक्षका उमेदवारले एकलौटी रुपमा मनोनयन दर्ता गरेको आरोप प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलका उमेदवार पक्षले आरोप लगाएपछि झडप भएको बताइन्छ । प्रहरीका अनुसार सुन्दरबजार ७ का ३७ वर्षे शंकर सापकोटाको टाउको र घाँटीमा चोट लागेको छ । उनी टकराज पक्षका हुन् ।

सुन्दरबजार १० का २९ वर्षे सुदीप अधिकारीको टाउकोमा चोट लागेको छ । ९ नम्बर वडाका ३६ वर्षीय खुशीजंग गुरुङको पनि टाउकोमा घाउ देखिन्छ । अर्का ४६ वर्षे किशोर बस्नेतको घुँडामा चोट लागेको छ । उनीहरु सबै भेषबहादुर पक्षका हुन् ।