बुद्ध एयरको जहाजमा एक महिलाको मृत्यु
काठमाडौं— बुद्ध एयरको जहाजमा एक महिलाको मृत्यु भएको छ । सिमरा विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आउँदै गर्दा रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीय राजुकुमारी चौधरीको मृत्यु भएको हो । मंगलबार दिउँसो उनको स्वास्थ्यमा समस्या देखिएपछि जहाजमा राखेर उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको बताइएको छ । सँगै उनका श्रीमान् जंगबहादुर चौधरी पनि थिए।
मंगलबार अपराह्न चार बजे बुद्ध एयरको जहाजमार्फत उनीहरू काठमाडौंका लागि उडेका थिए। उडेको केही मिनेटमै राजुकुमारी अचेत भइन्।
जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेपछि तत्काल उनलाई केएमसी अस्पताल सिनामंगल पुर्याइएकोमा चिकित्सकहरूले उनको निधन भइसकेको घोषणा गरेका थिए।
शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।