पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ मानव तस्करी काण्डमा मुछिए

शुक्रबार, ९ जेष्ठ २०८२

काठमाडौं – पूर्वगृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मानव तस्करीमा मुछिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा हुने मानव तस्करी, कागजात किर्ते र अवैध लेनदेनबारे अनुसन्धान गरेका नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले श्रेष्ठलाई यो काण्डमा मुछेका हुन् ।

यो अनुसन्धानको क्रममा आएको दबाब, धम्की र सरुवासम्मको विवरण उनले सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। पन्थीले शुक्रबार सामाजिक सञ्जालमा लामो वृत्तान्त लेख्दै भिजिट भिसा प्रकरणमा पैसा उठाउने र मानव तस्करको गिरोहले आफ्नो सरूवासमेत गराएको खुलाएका हुन् ।

उक्त प्रकरणमा प्रारम्भिक अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले थालेको थियो । तर पछि त्यसलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा हस्तान्तरण गरिएको थियो। उनका अनुसार असोज १९, २०८० मा १६४१ वटा राहदानीसहितको शंकास्पद कागजात उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएको थियो ।

त्यसबेला डीएसपी पन्थी ८ नं. पिलरको नेतृत्व गरिरहेका थिए । जसले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाहरू हेर्थ्यो । प्रारम्भमा कागजातहरू ३ नं. पिलरमा गएकाले अनुसन्धानमा प्रगति नहुँदाँ एसएसपी सोमेन्द्र सिंह राठौरको निर्देशनमा पन्थीको टोलीलाई जिम्मा दिइएको थियो । पन्थीले नेतृत्वको टोलीले अनुसन्धान गर्दा नक्कली कागजात बनाउने, काम ल्याउने दलाल, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनी, होटल, एयरलाइन्स, अध्यागमन कार्यालय, श्रम विभाग र प्रहरीका केही अधिकारीसमेतको संलग्नतामा संगठित तस्करी भइरहेको पुष्टि भएको थियो ।

अनुसन्धानको क्रममा २० जना दलाल, २० वटा ट्राभल एजेन्सी, ८ कन्सल्टेन्सी र विभिन्न पदका सरकारी कर्मचारी र नेतासहित ३७ जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरूमाथि मानव तस्करी, किर्ते र संगठित अपराधको मुद्दा दायर पनि भयो । पन्थीका अनुसार यो मुद्दालाई संगठित अपराधअन्तर्गत लैजान सरकारी वकिलसँग समेत नोकझोँक गर्नुपरेको थियो ।

‘यस प्रकरणको अनुसन्धानकै क्रममा मलाई अख्तियारमा १६ पृष्ठ लामो उजुरी हाल्ने धम्की पनि दिइयो’, उनले भनेका छन्, ‘प्रहरी संगठनभित्रको सहयोग र एसएसपी राठौरको दृढताले अनुसन्धान सफल भए पनि त्यसपछि दबाब बढ्दै गयो ।’ अनुसन्धान भइरहेकै बेला आफ्नो सरुवाका लागि नेपाल प्रहरी र राजनीतिक नेतृत्वकै उच्च तहबाट हस्तक्षेप भएको उनले बताए ।

पन्थीले विमानस्थल अध्यागमनका कर्मचारीले गृह मन्त्रालयका अधिकारीको पनि सङ्लग्नता मानव तस्करी गरेको बताएका छन् । त्यसका लागि दैनिक डेढ करोडदेखि २ करोड रुपैयाँसम्म लिने गरेको कुरा आफूले अनुसन्धानकै क्रममा बोलेको पनि स्मरण गराएका छन् । तत्कालीन गृहमन्त्री श्रेष्ठको निर्देशन र तत्कालीन आइजीपी वसन्त कुँवरको संलग्नतामा सरुवा गरिएको पन्थीको दाबी छ । हालका आईजीपी दीपक थापाले आफ्नो सरूवा रोक्न कोसिस गरे पनि माथिको दबाबका कारण असमर्थ भएको पनि उनले खुलाएका छन् ।

पन्थीले नारायणकाजी बाहिरिएपछि आएका गृहमन्त्री रवि लामिछानेलाई पत्र लेखेर आफ्नो सरुवाबारे जानकारी गराएको पनि उल्लेख गरेका छन्। उनका अनुसार कानुनी रूपमा सरुवा बदर नभए पनि उनलाई पहिले कार्यरत कार्यालयमै काम गर्न भनिएको थियो। उनले यस विषयका थप विवरण पनि आफू सार्वजनिक गर्न तयार रहेको बताएका छन्।