गृहमन्त्री लेखकलाई बर्खास्त गर्ने मोडमा एमाले, सचिवालय बैठकमा प्रस्ताव पेस हुँदै
काठमाडौं – भिजिट भिसामा कमिशन र भ्रष्टाचार प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउने या बर्खास्त गर्न प्रधानमन्त्रीलाई सिफारिस गर्ने मुडमा एमाले नेता पुगेका छन्।
उच्च स्रोतका अनुसार आइतबार हुने एमाले सचिवालय बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसामु यो प्रस्ताव गरिनेछ।
भिजिट भिसा प्रकरणले सरकार थप विवादमा परेको भन्दै गृहमन्त्रीको राजीनामा गराउने प्रयत्न हुने दाबी गरिन्छ। यद्यपि एमाले पदाधिकारीहरुले यसबारेमा प्रतिक्रिया दिन चाहेका छैनन्।
गृहमन्त्री लेखकले भने यस प्रकरणमा आफू कहिँ नजोडिने दाबी गरेका छन्। गृह मन्त्रालयले खण्डन गरेको विषयमा मन्त्री लेखकले भिडिओ सन्देश समेत जारी गरेका थिए।
उनले प्रतिनिधि सभामा समय माग गरी यस विषयमा प्रष्ट पार्ने पनि बताएका छन्। प्रतिपक्षी कित्तामा रहेका माओवादी, रास्वपासहितले गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने मागसहित राजीनामा गर्न भनेका छन्।
यहाँसम्मकी कांग्रेसका नेता शेखर कोइरालाले पनि छानबिनका लागि मन्त्री लेखक तयार हुनुपर्ने बताएका थिए। कांग्रेस संस्थापन पक्ष भने यस विषयमा मौन छ।
एमालेमा भने दुईथरी मत छन्। कोही गृहमन्त्री लेखकको बचाऊमा उत्रिएका छन् भने कतिपयले राजीनामा दिनुपर्ने उल्लेख गरेका छन्।