रोशनीको सुसाइड नोट भेटियो, कसलाई के भनिन् ?
काठमाडौं – आइतबार दिउसो मृत भेटिएकी रोशनी शाहीको सुसाइड नोट फेला परेको छ । महरा प्रकरणकी रहस्यमयी पात्र शाहीको कोठाबाट दुई पृष्ठको सुसाइड नोट भेटिएको हो ।
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेकी ससद सचिवालयकी कर्मचारी तथा स्वास्थ्यकर्मी रोशनी शाहीले छोराका नाममा सुसाइड नोट लेखेकी हुन् ।
रोशनीले दुईवटा कागजमा छोराका नाममा सुसाइड नोट लेखेकी प्रहरीले जनाएको छ । उनका एकमात्र छोरा अहिले अमेरिकामा छन् । ‘तिमी कुरा बुझ्ने छौ बाबु, तिम्रो भविष्यको लागि मैले केही गर्न सकेको छैन’, उनले लेखेकी छन्, ‘खुशी भएर बाँच्नु, म त यस्तै भएँ ।’ दुवै पानामा उनले छोराबाहेक अन्य प्रसंग केही लेखेकी छैनन् ।
महरा प्रकरणताका नै उनको मानसिक स्वास्थ्यमा समस्या रहेको पति चित्रजंग शाहीले प्रहरीलाई बताएका थिए । ‘महरा सर हाम्रो अभिभावकजस्तो मान्छे । उहाँमाथि जे–जे भयो, सब मानसिक स्वास्थ्यको गडबडीले भएको थियो’, प्रहरी र प्रत्यक्षदर्शी माझ उनी भन्दै थिए । उनको मानसिक स्वास्थ्यकै समस्याका कारण अनेकन पारिवारिक तथा सामाजिक समस्या झेल्नुपरेको पतिको भनाइको आशय थियो ।