प्रधानमन्त्री ओलीविरुद्ध उजुरी गर्ने राजावादी पक्राउ

मंगलबार, १३ जेष्ठ २०८२

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उजुरी हाल्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना केन्द्रीय सदस्य पक्राउ परेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले आइतबार गोदावरीमा गरेको वडाअध्यक्षलाई अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएको उत्तेजनापूर्ण अभिव्यक्तिबारे उजुरी दिएका राप्रपा केन्द्रीय सदस्य रविकिरण हमाल उल्टै पक्राउ परेका हुन् ।

उनलाई प्रहरीको एक टोलीले सोमबार साँझ ६ बजे काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेर हिरासतमा लिएको हो । हमाललाई सोधपुछपछि प्रहरीले मंगलबार दिउँसो २ बजे रिहा गरेको छ ।

‘मलाई लाजिम्पाटबाट नेपाल प्रहरीले मलाई गिरफ्तार गरेर अपराध अनुसन्धान कार्यालयमा राखियो’, हमालले भनेका छन्, ‘सोमबा बेलुका ६ बजे पक्राउ गरिसकेपछि मलाई उक्त कार्यालयमा लगिएको थियो । पक्राउ गर्नुको कारणबारे प्रहरी अधिकृतसँग सोध्दा माथिको आदेश अर्थात् प्रधानमन्त्रीको कार्यालयको आदेशमा पक्राउ गरिएको जानकारी प्राप्त गरेँ ।’

उनले अहिले आफू रिहा भइसकेको बताएका छन् । ‘सबै कुरा बिस्तारै खुल्दै जाला, भोलि यसको मूल्याङ्‌कन हुने छ । देश बनोस्, नेपाली जनताको भलो होस्, नेपाली माटो सुहाउँदो राजनीतिक व्यवस्था कायम होस्, हामै जीवनकालमा नेपाल विश्वको उन्नत राष्ट्र बनोस्’, उनले रिहा भएपछि भनेका छन्, ‘नेपालीहरू विश्वका उन्नत राष्ट्रका नागरिकका रुपमा बाँच्न पाउन् भन्ने लक्ष्य प्राप्तिप्रति प्रतिबद्ध छु।’

हमालले सोमबार प्रहरी महानिरीक्षक दीपक थापालाई सम्बोधन गर्दै ‘प्रधानमन्त्रीलाई तत्काल पक्राउ गरि पाऊँ’, शीर्षकमा एउटा निवेदन हालेका थिए ।