आरिघोप्टे बर्षापछि आएको बाढीले बगायो एक जलविद्युत आयोजना

आइतबार, १८ जेष्ठ २०८२

काठमाडौं—आरिघोप्टे बर्षापछि आएको बाढीले एक जलविद्युत आयोजना बगाएको छ । शनिबार रातिदेखि आएको वर्षाका कारण १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्णरूपमा बगाएको हो । सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ मा रहेको आयोजना बगेपछि १६० घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ ।

अविरल वर्षाकै कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका—३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ। बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुल लगायत संरचनामा पनि क्षति पुगेको छ।

घटनास्थलमा अहिले प्रहरी, प्राविधिक टोली र जनप्रतिनिधिहरू पुगिसकेका छन्।

‘सडक तथा विद्युत् संरचनाको तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाइने छ,’ अध्यक्ष भोटेले जानकारी दिए।