देउवाले सुनाए ७ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय

आइतबार, १८ जेष्ठ २०८२

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय सुनाएका छन् । कांग्रेस संसदीय दलको पछिल्लो बैठकमा सभापति देउवाले सरकारमा सहभागी कांग्रेसका ९ मध्ये ७ जना मन्त्रीको आयु तोक्दै साउनसम्मको समय दिएका छन् । ऊर्जा मन्त्री दिपक खड्का, स्वास्थ्य मन्त्री प्रतिप पौडेल र नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई फेर्न प्रधानमन्त्री केपि शर्मा ओली र देउवा सहमत भएपनि पार्टीको शक्ति सन्तुलन खलबलीने डरले ७ जनामन्त्रीलाई फिर्ता बोलाउने निर्णयमा पुगेको उनको भनाई थियो ।

ओली क्याबिनेटमा ऊर्जामन्त्री खड्का सबैभन्दा विवादमा परेका ब्यापारी र ठेकदार हुन् । कुलमान प्रकरण हुँदै हाइड्रो कम्पनीहरूको लाइसेन्स, ठेक्का आदिमा अनियमितता गरेको आरोप लागेका र लोडसेडि¨को लागि जिम्मेवार उनैका कारण सरकार बदनाम भएको प्रधानमन्त्री ओलीको बुझाइ छ । स्रोतका अनुसार अब हुने फेरबदलबाट हट्नेको सूचीमा खड्काको नाम १ नम्बरमा छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलप्रति पनि कांग्रेसमा असन्तुष्टि छ । युवा र शालीन व्यक्तित्वको छवि बनाएका यी दुई विवादमा नपरे पनि कार्य सम्पादनमा कम अंक ल्याएको कारण हटाइने सूचीमा छन् । दुई महिना पहिले नै हटाउन लागेकोमा उनीहरुलाई परराष्ट्र मन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकको समेत पद धरापमा पर्ने भएपछि जोगिएका छन् । आगामी साउनमा क्याबिनेट हेरफेर गर्ने देउवा ओली विच सहमति भएको छ । सोही सहमति अनुरा राणा र लेखकबाहे ७ मन्त्रीको पद जाने निश्चत भएको छ ।

एमालेमा पनि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ‘डेञ्जर जोन’ मा छन् । प्रधानमन्त्री ओलीले यी दुईलाई अस्ति नै हटाउन चाहे पनि कांग्रेसका सहितलाई एकैचोटि हटाउने समझदारीपछि रोकिएको छ । सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने संकेत गर्दै निजामती विधेयक पारित गर्ने दिन राज्यव्यवस्था समितिको बैठकमै पठाइएन । कर्मचारीसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न बसेको समितिको बैठकमा विभागीय मन्त्री हुँदाहुँदै प्रधानमन्त्रीले शिक्षामन्त्री रघुजी पन्तलाई चिठी लेखेर पठाएका थिए ।

देउवाले साउनमा क्याबिनेट हेरफेर हुने खुलासा गरेसँगै कांग्रेसमा मन्त्रीका आकांक्षीहरूले भित्रभित्रै लबिङ शुरु गरिसकेका छन् । जानकार स्रोतका अनुसार ओली सरकारमा प्रतिनिधित्व गर्ने कांग्रेसका ९ मध्ये ७ मन्त्री फेरबदल हुँदा आन्तरिक समीकरण मिलाउने नाममा मञ्जु खाँणलाई मन्त्री बनाइने सम्भावना रहेको श्रोतको भनाई छ । संसदीय दलमा गगन र शेखर मिलेर चुनौती दिएको अवस्थामा मुखमा आउनै लागेको प्रधानमन्त्री पद फुस्किने चिन्तामा रहेका देउवाले बालकृष्ण खाँणलाई नजिक राख्न त्यस्तो रणनीति बनाएको बुझिन्छ । संसदीय दलमा ५ देखि ७ जना सांसद यताउता पार्न सक्ने हैसियतका बालकृष्ण नक्कली भुटानी शरणार्थी प्रकरणमा नजोगाएको रिसले गुट फेरेर शेखरतिर लागेको चर्चा छ ।