कोहलपुरको भुत काण्डले लियो नयाँ रुप

शुक्रबार, २३ जेष्ठ २०८२

काठमाडौं—कोहलपुरको भुत काण्डले नयाँ रुप लिएको छ । कोहलपुर नगरपालिका १२ सिम्री टोलस्थित प्रिथी बहादुर पुनको घरभित्र दाल, चामल, खाना पकाउने भाँडा, पुस्तक र लत्ता कपडामा आगो लाग्ने घटनाले नयाँ रुप लिएको हो । उक्त आगो कुनै मानिसले नलगाएको र जादुयी शक्तिबाट लागेको धेरैको दावी छ ।

बताइएअनुसार गत पुसमा पहिलोपल्ट खाना पकाउने भाँडा, विभिन्न खाद्यन्न, पुस्तक र लत्ता कपडामा आगो लागेको थियो । ‘त्यतिबेला कुनै रिसिबी भएको व्यक्तिले आगो लगाइदिएको होला’ भनेर खासै वास्त नगरिएको घरधनी पुन बताउँछन् । तर, गत वैशाखबाट पुनः केही दिनको अन्तरमा आफैँ आगो लाग्ने श्रृखंला शुरु भएपछि उनी अचम्ममा परेका छन् ।

उक्त खबर व्यापक बनेपछि जनप्रतिनिधि र प्रहरीको टोली घर निरीक्षणको लागि सिम्री टोल पुगेको थियो । त्यतिबेला पनि घरभित्र रहेका खाना पकाउने भाडाहरुमा अस्वभाविक ढंगबाट अनायसै आगो लागेपछि टोली चकित बनेको वडाध्यक्ष डम्बरबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘मैले आफैँ नदेखेको भए विश्वास गर्दिन थिएँ, तर मेरै आँखा अगाडि त्यो दृश्य देखिएपछि म पनि सोच्न बाध्य भएको छु ।’

उता इलाका प्रहरी कार्यालय कोहलपुरकी डिएसपी लक्ष्मी खनालले भने अहिले नै घटनाको वास्तविकता खुलिनसकेको बताइन् । केही दिनअघि घरमै पुगेर अवलोकनसमेत गरेकी उनले यथार्थ पत्ता लगाउन नगरपालिकाको सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी दिइन् ।

स्थानीय र जनप्रतिनिधिहरुले जादुयी शक्तिबाट आगो लागेको दावी गरे पनि प्रमाणित भइनसकेको उनको भनाई छ । ‘केही दिन बिराएर आगो लाग्छ भनिएको छ, हामीले सिसिटिभी राखेको तीन दिनभयो, अहिलेसम्म त्यस्तो केही देखिएको छैन’, डिएसपी खनाल भन्छिन्,‘कुनै जादुयी शक्तिबाट आगो लागेको हो भने विस्तारै थाहा होला, अहिले नै प्रमाणित भइसकेको छैन, दुई चार दिन कुर्दैछौँ ।’