अमेरिकामा मृत भेटिए चार नेपाली
भर्जिनिया – अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा एउटै घरमा बसोबास गर्ने चार जना नेपाली मृत फेला परेका छन् । मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ तथा उनका दुई सन्तान आठ वर्षीया छोरी तथा दुई वर्षीय छोरा रहेका छन् ।
बिहीवार राति १०ः४५ बजे यो घटना घटेको प्रहरीको भनाइ छ । घरको तल्लो तल्लामा बस्ने उनीहरुसँग सम्पर्क हुन छाडेपछि घर धनीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जाँच गर्दा चारै जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ ।
मनासस पार्क प्रहरीको भनाइ अनुसार अहिलेसम्मको अनुसन्धानबाट यो घटना हत्यापछि आत्महत्या गरिएको हुन सक्ने देखिएको छ । यद्यपि, सबैभन्दा पहिला कसले कसलाई गोली चलायो भन्ने बारेमा प्रहरीले अहिलेसम्म केही बताएको छैन ।
मृतक परिवारका छिमेकीका अनुसार सन्तोषको परिवार करिब छ महिनाअघि मात्र उक्त घरमा सरेका थिए ।