कांग्रेस निकट तरुण दलको भवन बनाउन सरकारी खाताबाट तीन करोड विनियोजन

शनिबार, २४ जेष्ठ २०८२

काठमाडौं –  सरकारले कांग्रेसको युवा संगठनलाई तीन करोड रुपैयाँ छुट्याएको छ । काठमाडौंको रवि भवनमा बन्न लागेको नेपाल तरुण दलको ‘गणेशमान सिंह स्मृति भवन’ का लागि सहरी विकास मन्त्रालयमार्फत बजेट छुट्याइएको हो ।

सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुवाको नाम जोडिएपछि रकम विनियोजन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले तीन करोड बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरेको हो । मन्त्रालयले गणेशमान स्मृति भनवको नाममा बजेट विनियोजन गरेको भए पनि यो तरुण दलको भवन हो । तर गुरुङले आफ्नो संगठनको भवन बनाउन नभई गणेशमान सिंह स्मृति भवन निर्माण गर्न ३ करोड विनियोजन भएको प्रस्टीकरण दिएका छन् ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद भनेका छन् । गुरुङले बजेटका लागि पहल गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।