यो बर्षको मनसुनले राख्यो नयाँ रेकर्ड
काठमाडौं – यो बर्षको मनसुनले नयाँ रेकर्ड राखेको छ । कोसी प्रदेशमा मनसुन भित्रिएको दश दिन भइसक्दा पनि पश्चिम नसरेपछि रेकर्ड राखेको हो ।
जेठ १५ गते राति कोसी प्रदेशमा मनसुन भित्रिएको थियो । तर, मनसुन कोसी प्रदेशबाट पश्चिमतर्फ अगाडि बढेको छैन । अझै केही समय कोसी मै मनसुन सीमित रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“अझै मनसुन कोसीबाट अगाडि बढ्न केही समय लाग्नेछ । कोसीमा ब्रेक भएको मनसुन त्यहाँभन्दा अगाडि बढ्न सकेको छैन,” मौसमविद् सञ्जिव अधिकारीले भने, “अझै तीन दिन मधेस प्रदेशका केही स्थानसहित देशका केही भूभागमा सुक्खा हुनेछ ।”
पश्चिमी र स्थानीय वायुकै कारण कोसीबाहेकका अन्य प्रदेशमा वर्षा भइरहेको उनी बताउँछन् । मनसुनी वर्षा हुनलाई मनसुनी वायुका कारण वर्षा हुनुपर्ने उनी बताउँछन् । मनसुन भएको घोषणा गर्नलाई दुई दिनसम्म वर्षा हुनुपर्ने, ६० प्रतिशतभन्दा बढी भूभागमा वर्षा भएको हुनुपर्ने उनको भनाइ छ । यी मापदण्ड पूरा भएपछि मात्रै मनसुनको घोषणा गर्न सकिने मौसमविद् अधिकारी बताउँछन् ।
तर, अहिले पूर्वीय वायुभन्दा पश्चिमी वायु नै कोसीदेखि बाहेकका प्रदेशमा सक्रिय रहेको उनको भनाइ छ । मनसुनी वायु कमजोर हुनु नै मनसुन कोसीबाट पश्चिततर्फ नसर्नुको मुख्य कारण भएको उनले बताए ।
“अहिले पनि कोसी प्रदेशबाहेकका भूभागमा पश्चिमी र स्थानीय वायु सक्रिय छ । पश्चिमी र स्थानीय वायुभन्दा मनसुनी वायु स्ट्रङ भएर त्यसलाई धकेल्दै पश्चिमतर्फ अगाडि बढ्दा मनसुन फैलिँदै जाने हो,” मौसमविद् अधिकारी भन्छन्, “तर, मनसुनी वायु पश्चिमी वायुभन्दा कमजोर हुँदा ठेल्न सकेन र कोसीमै सीमित रह्यो ।”
पश्चिमी वायुभन्दा मनसुनी वायु थप सक्रिय र स्ट्रङ भएपछि मात्रै अन्य प्रदेशमा मनसुन फैलिँदै जाने उनको भनाइ छ । मौसमविद् अधिकारीका अनुसार गत वर्ष कोसी प्रदेशमा नौ दिन मनसुन सीमित भएको थियो । तर, यो वर्ष यो रेकर्ड तोडिएको छ । १५ गते राति कोसीमा आइपुगेको मनसुन त्यहाँबाट अगाडि सर्न सकेको छैन ।
मनसुन पूर्वबाट प्रवेश गरी सुदूरपश्चिमसम्म फैलिन्छ । यसका लागि केही समय लाग्ने गरेको छ । मौसमविद् डेबिड ढकालका अनुसार गत वर्ष मनसुन देशभर फैलिन करिब १३ दिन लागेको थियो ।