रास्वपा सांसदलाई संसदबाट निष्काशन गर्न कांग्रेसको माग

मंगलबार, ३ असार २०८२

काठमाडौँ – रास्वपा सांसदलाई संसदबाट निष्काशन गर्न नेपाली कांग्रेसले माग गरेको छ । भिजिट भिसा प्रकरणलाई लिएर केही सातादेखि संसदमा विरोध गरिरहेका रास्वपा सांसदलाई कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अमर्यादित पोशाक लगाएको भन्दै संसदबाटै निष्कासनको माग गरेको हुन् ।

मंगलबारको संसदमा रास्वपाका सबै सांसदले निलो रिबन घाँटीमा बेरेका थिए । निलो रिबनले विश्वभर मानव तस्करी र मानव बेचबिखनविरुद्धको आवाजको प्रतिनिधित्व गर्ने रास्वपाले जनाएको छ । रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै आएको छ ।

निरन्तर विरोधमा उपस्थित रास्वपाका सांसद मंगलबार भने केही फरक शैलीमा उपस्थित भए । उनीहरु सबैले घाँटीमा निलो रंगको खादा लगाएका थिए । जसप्रति सत्तारुढ नेपाली कांग्रेसले आपत्ति जनायो । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाका सांसदले लगाएको पोशाक मर्यादित नभएको भन्दै संसदबाटै निष्कासनको मागसमेत गरे ।

‘यो संसद्‌मा मर्यादित पोशाकमा आउनुपर्छ भनिएको छ । यो नियमावलीमा गरिएको व्यवस्था हो । यो संसद्‌मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ?,’ घिमिरेले भनेका छन्, ‘यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, भोलि जथाभावी ड्रेस लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने रु यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यले सभामुखले चेतावनी र संसद्‌बाट निष्कासन गर्ने कारबाही पनि आवश्यक छ भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु ।’

कांग्रेसको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गर्ने निर्णय सुनाए । उनले ३० मिनेटपछि पुनः बैठक बस्ने भनेका छन् । यसअघि रास्वपाको नाराबाजीकै बिच संसद बैठक सञ्चालन गरिएको थियो ।