एकीकृत समाजवादीका नेतामाथि बहालवाला मन्त्रीद्वारा मुक्का प्रहार

बिहिबार, ५ असार २०८२

काठमाडौँ – कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले गृह जिल्ला ताप्लेजुङमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेमाथि मुक्का प्रहार गरेका छन् ।

मंगलबार हाङगामको गृह जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङमा मन्त्रीले आफूलाई दुईपटक मुक्का प्रहार गरेको थेबेले बताएका हुन्  ।

‘म कफी खाएर घरतिर जाँदै थिएँ । उहाँ मदिरा सेवन गरेर आउनुभएको रहेछ । अनि २०८४ मा मसँग चुनाव लड्ने भन्दै हिँड्दै छौं रे भन्नुभयो । तपाईंलाई कसले भन्यो ? भन्ने मान्छे ल्याउनुहोस् भनेपछि उहाँले तलाईं तँ तेस्रो मान्छे चाहिन्छ भन्दै मुक्का प्रहार गर्नुभयो,’ थेबेले भने । आफूले हेलमेट लगाएकाले कुनै चोटपटक नलागेको उनको भनाइ छ ।

हाल कांग्रेसका नेताहरूले मिल्नुपर्छ भनेर दबाब दिएको थेबेले बताए । ‘कांग्रेस संसदीय दलका नेता उद्धव थापाले फोन गरेर अहिले कतै उजुरी नदिनुस्, पहिला बसेर छलफल गरौं भनेर भन्नुभएको छ,’ उनले भने ।

थेबे नेकपा एसका प्रदेश कमिटीका सदस्य हुन् । मन्त्री हाङगामले भने अझै पिट्ने भन्दै फोनमा धम्काएको नेकपा एसका नेताहरू बताउँछन् । ‘केन्द्रमा गृहमन्त्रीको ५० करोडको कुरा आएकै छ,’ नेकपा एस कोशी प्रदेश कमिटीका उपमहासचिवसमेत रहेका जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङलामाले भने, ‘उहाँले अहिले पनि धम्काइरहनुभएको छ । अब पार्टीसँग कुरा गरेर दिउँसोसम्म किटानी जाहेरी दिन्छौं।’

कांग्रेसका नेताहरूले भने पर्सि विराटनगरमै बसेर यो घटना मिलाउन दबाब दिएको एसका नेताहरूले बताएका छन् ।