चितवनका शैक्षिक कन्सल्टेन्सीको नियमन सुरु
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय चितवनले शैक्षिक कन्सल्टेन्सीको नियमन सुरु गरेको छ । संयुक्त विद्यार्थीहरुको उजुरी, मिडिया आएका समाचार र ठगीका उजुरीहरु बढेपछि जिल्ला प्रशासन कार्यालयले कन्सल्टेन्सीको नियमन सुरु गरेको हो ।
शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरुका सम्बन्धमा आइतबार अन्यन्त जरूरी सूचना जारी गर्दै स्थानीय प्रशासनले प्रशिक्षण र परामर्श गराउनुपर्नेमा केही संस्थाले प्रचलित कानूनले तोकेका कार्यहरु बाहेक Visa Process गर्ने, Job Gaurantee गर्ने, Travel Agency र सहकारी संस्थाहरुसँग मिलेमतो गरी नक्कली कागजात बनाएको, मेनपावरले गर्ने काम व्यक्तिगत/संस्थागत रुपमै गरेको भन्ने समेतका गुनासा एवं उजुरी परेको भन्दै ७ (सात) दिनभित्र विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
प्रशासन कार्यालयले चितवनमा संचालित संस्थालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट प्राप्त इजाजत/अनुमती पत्रसहित तोकिएको समयमा कागजात उपलब्ध नगराउने वा मापदण्ड पुरा गरेको नपाइए कारवाही हुने जनाएको छ ।
