इजरायली हमलामा इरानका राष्ट्रपति घाइते

सोमबार, ३० असार २०८२

काठमाडौं – हालैको इजरायल–इरान सैन्य युद्धमा इरानी राष्ट्रपति मसुद पेजेसकियान घाइते भएको खुलासा भएको छ । इरानको रिभोलुसनरी गार्डसँग नजिक रहेको सरकारी समाचार एजेन्सीका अनुसार १६ जुनमा राजधानी तेहरानमा रहेको एक गोप्य भूमिगत सुविधाको प्रवेश र निकास बिन्दुहरूलाई लक्षित गरी ६ वटा बम हमला गरिएको थियो । जहाँ पेजेसकियान सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठकमा सहभागी थिए ।

राष्ट्रपति र अन्य व्यक्तिहरू आपतकालीन मार्गबाट भाग्ने क्रममा उनको खुट्टामा चोट लागेको समाचारमा बताइएको छ । इरानले अब इजरायली एजेन्टहरूको घुसपैठको सुराग पछ्याइरहेको बताइएको छ । फार्सको यो रिपोर्ट स्वतन्त्ररूपमा पुष्टि भने नभएको बताइएको छ । इजरायलले यो रिपोर्टबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन ।

१२ दिने युद्धको समयमा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले उत्तर–पश्चिमी तेहरानको पहाडी क्षेत्रमा बारम्बार हमला भएको देखाएका थिए ।युद्धको चौथो दिनमा हमलाले तेहरानमा रहेको एक गोप्य भूमिगत सुविधालाई लक्षित गरेको थियो, जहाँ त्यतिबेला इरानका शीर्ष नेताहरू थिए भन्ने विषय खुलासा भएको छ ।

फार्स समाचार एजेन्सीको रिपोर्टअनुसार इजरायली हमलाले सबै ६ वटा प्रवेश र बाहिर निस्कने बिन्दुहरू र वायुरक्षा प्रणालीलाई अवरुद्ध गरेको थियो । उक्त सुविधाको बिजुली आपूर्ति पनि काटिएको थियो । पेजेसकियान सुरक्षित स्थानमा पुग्न सफल भएका थिए । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् इरानको सर्वोच्च निर्णय गर्ने निकाय हो, जसको नेतृत्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले गर्छन् ।

गत हप्ता, पेजेसकियानले इजरायलले उनलाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए । यो दाबीलाई इजरायली रक्षा मन्त्री इजरायल काट्जले अस्वीकार गर्दै उनले सत्ता परिवर्तन युद्धको लक्ष्य नभएको बताएका थिए । इजरायलले युद्धको सुरुवातमै धेरैजसो शीर्ष रिभोलुसनरी गार्ड र सेना कमान्डरहरूलाई मारेकोे थियो ।

इरानी नेताहरूले उनीहरू पूर्णरूपमा आश्चर्यमा परेको र हमलापछिको पहिलो २४ घण्टासम्म निर्णय लिने प्रक्रियामा अवरुद्ध भएको स्वीकार गरेका छन् ।

इजरायली अधिकारीहरूले आयतोल्लाह खामेनेई पनि निशाना भएको स्वीकार गरे पनि उनलाई सुरक्षित गुप्त स्थानमा सारिएपछि उनीहरूले उनको स्थान पत्ता लगाउन नसकेको र उनी बाहिरी संसारबाट धेरै हदसम्म टाढै रहेका बताएका थिए । इरानका शीर्ष अधिकारीहरू र कमान्डरहरूको स्थान र संवेदनशील गोप्य सुविधाहरूको स्थानबारे इजरायलले कसरी महत्वपूर्ण गुप्तचर जानकारी संकलन गरेको थियो भन्नेबारे अझै धेरै प्रश्नहरू रहेको बताइएको छ । बीबीसी