मेयरमा पराजित न्यौपानेलाई शक्तिशाली मन्त्रालय उपहार

मंगलबार, ३१ असार २०८२

काठमाडौँ – नेकपा एमाले नेतृ तथा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार अपराह्न नियुक्त गरेका हुन् ।

यसअघि सो मन्त्रालय सम्हालेका राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस डिलसम्बन्धी अडियो प्रकरणमा मुछिएपछि मंगलबार नै राजीनामा दिएका थिए ।

न्यौपाने एमालेकी तिनै नेता हुन् जो २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । त्यसपछि उनलाई राष्ट्रियसभामा ल्याइएको थियो । अहिले उनी राष्ट्रियसभामा एमालेकी प्रमुख सचेतक थिइन् ।

यो मन्त्रालयको प्रदेश, स्थानीय तह र संघिय सरकारबिच समन्वय र सरकारी कर्मचारीको सरुवा बढुवा लगायतका मुख्य कार्यक्षेत्रमा काम गर्ने गर्दछ ।