पानीका लागि बजेट जोहो गर्न हर्क साम्पाङले ल्याए ‘माया धराने’ ब्राण्डको बेसार
काठमाडौँ – श्रम अभियान पछि धरानका मेयर हर्क साम्पाङ उत्पादनमा जोडिएका छन् । संघिय सरकारले धराने जनतालाई कोसीको पानी खुवाउन प्रयाप्त बजेट नुछुट्याएपछि साम्पाङले रकम जुटाउन ‘माया धराने’ ब्राण्डमा बेसार उत्पादन सुरु भएका हुन् ।
उपमहानगरपालिकाको लगानीमा उत्पादन भएको बेसारको प्याकेटमै हर्क साम्पाङले ढुंगा बोकेको फोटो राखिएको छ । फोटोको मुनि ‘आत्मनिर्भरता आफ्नो समस्याको समाधान आफैँले आफ्नै उत्पादनमा आधारित भएर गर्नुपर्छ । कुनै विदेशी उत्पादनमा निर्भर भएर हैन’ लेखिएको छ ।
बेसारको प्रचारमा गायक एलिसा राई पनि अगाडि देखिएकी छन् । उनले आफ्नो फेसबुक पेजको वालमा बेसार बोकेको फोटोसहित एक स्टाटस लेखेकी छन्, ‘जहाँ अधिकांश पद र शक्तिमा रहेका मानिसहरू केवल ठुला कुरा गर्छन्, मेयर हर्क साम्पाङ, धरान र धरानका इमानदार जनता भने जे जति सकिन्छ, त्यसैबाट राष्ट्र निर्माणमा व्यस्त छन् । बोलेरमात्र देश बन्छ त ?’
उपमहानगरपालिकाको ३० लाखको लगानी रहेको ‘माया धराने’ बेसार उद्योगको सर्वत्र चर्चा चुलिएको छ । झिनो आवाज नै सही, केही विवादका विषय पनि उठेका छन् । यो उद्योगले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । उद्योगका व्यवस्थापक समीर तामाङले आफ्नो उत्पादन शतप्रतिशत शुद्ध र अर्ग्यानिक भएको दाबी गर्दै प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री गरिरहेको बताए । उनले जापान, अमेरिका र बेलायतजस्ता देशबाट समेत बेसारको माग आएको जानकारी दिए । स्वदेशमा पनि अग्रिम बुकिङ भइरहेको उनको भनाइ छ ।
‘हामीले किसानबाट गुणस्तर हेरेर प्रतिकिलो २ सयदेखि ३५० रुपैयाँ सम्ममा बेसार खरिद गरिरहेका छौँ,’ उनले भने । उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको ल्याब परीक्षणमा माया धराने बेसारको गुणस्तर र शुद्धता झण्डै ९८.८८ प्रतिशत पाइएको छ ।
‘माया धराने’ बेसारलाई एक सफल परियोजनाको रूपमा प्रस्तुत गर्दै तामाङले उद्योगले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको बताए । मागको विषयमा उनले भने, ‘हाम्रो उत्पादनको माग अत्यधिक छ । हामीलाई जापान, अमेरिका, बेलायत र हङकङबाट टनका टन माग आएको छ । स्वदेशमै पनि मानिसहरूले हप्तौँ अघिदेखि अग्रिम बुकिङ गरिरहेका छन् ।’
उनका अनुसार उद्योगले हालसम्म धरान–२० का स्थानीय किसानबाट २ हजार किलोभन्दा बढी बेसार खरिद गरिसकेको छ र सबै कानुनी प्रक्रिया पूरा गरेर सञ्चालन भइरहेको छ । तामाङले दैनिक १५० देखि २०० किलो बेसार उत्पादन गर्ने क्षमता भए पनि अघोषित लोडसेडिङका कारण उत्पादन आधाभन्दा बढीले घटेको गुनासो गरे । बिजुली अभावले समयमा उत्पादन गर्न नसक्दा माग धान्न गाह्रो परेको उनको भनाइ छ ।
उनले महँगो परेको भन्ने गुनासोमा केन्द्रित हुँदै पूर्ण अर्ग्यानिक बेसारको बजारमूल्य अहिले पनि १ हजार २ सयसम्म परिरहेको दाबी गरे । यसका बाबजुत आफूहरुले ८ सय रुपैयाँ प्रतिकिलोमा विक्री गरिरहेको उनको भनाइ छ ।