भुटानमाथि गोल वर्षा गर्दै नेपाल शीर्ष स्थानमा

शनिबार, ३ साउन २०८२

काठमाडौं—भुटानमाथि गोलको बर्षा गर्दै टिम नेपाल साफ महिला यू–२० च्याम्पियनसिपको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार बंगलादेशको ढाकामा सम्पन्न खेलमा नेपालले भुटानलाई ८–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । नेपालको जितमा पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले एक–एक गोल गरेका थिए । यो जितसँगै नेपालले ५ खेलबाट १२ अंक बनाएर आयोजक बंगलादेशलाई गोलअन्तरमा पछि पार्दै शीर्ष स्थान ओगटेको छ ।

एक खेल कम खेलेको बंगलादेशको पनि १२ अंक नै छ । तर, नेपालले ३० गोल गर्दै ४ गोल मात्र खाएको छ भने बंगलादेशले १९ गोल गर्दा ४ गोल खाएको छ ।

शनिबार नै दोस्रो खेलमा बंगलादेश र श्रीलंका भिड्दै छन् । उक्त खेलमा बंगलादेशले जित निकाल्ने सम्भावना उच्च भएकाले पुनः शीर्ष स्थानमा फर्किन सक्छ । त्यस अवस्थामा सोमबार हुने नेपाल र बंगलादेशबीचको खेल उपाधिका लागि निर्णायक हुनेछ ।