नरहरि घिमिरेलाई विमानस्थल अध्यागमनको जिम्मा

सोमबार, ५ साउन २०८२

काठमाडौं—अख्तियारमा प्रवक्ताको भूमिका निभाएका सहसचिव नरहरि घिमिरेले विमानस्थल अध्यागमनको जिम्मा पाएका छन् । भिजिट भिसा काण्डपछि गृहमन्त्रालयले उनीसहित भर्खरै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले पुरै सेट परिवर्तन गरेर नयाँलाई जिम्मेवारी दिएको बताए ।

अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई तीन दिने तालिम पश्चात आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ।

विमानस्थलस्थित अध्यागमनको प्रमुखका रुपमा सुरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रुपमा काम गरिसकेका सहसचिव हुन्। केही दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो। त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही संख्यामा शाखा अधिकृत मन्त्रालयमा तानिएको जनाएको छ।

“विमानस्थलबाट आएका अधिकृतहरु मन्त्रालयमा दरबन्दी मिलान हुन्छ।” गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, “दरबन्दी भन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालयमार्फत बाहिर पठाउने काम हुन्छ।” उनले दरबन्दी अनुसार मात्रै मन्त्रालयले अधिकृतहरु राख्ने बताए। त्यस्तै सरकारले पूर्वमुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानविन समिति गठन गरेको छ।

उक्त समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानविन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानूनी एवं संरचनागत सुधारको तत्कालिन र दीर्घकालीन कार्ययोजना प्रश्तुत गर्नेलगायत कार्यादेश दिइएको छ। समिति अहिले कार्यादेश अनुसार काम गरिरहेको छ।