तराईका ८ जिल्ला इतिहासकै डरलाग्दो संकटको भूमरीमा

मंगलबार, ६ साउन २०८२

काठमाडौं—तराईका ८ जिल्ला इतिहासकै डरलाग्दो संकटको भूमरीमा फसेका छन् । मनसुनको समयमा पनि पानी नपरेपछि मधेस प्रदेशका ८ जिल्ला इतिहासमै पहिलो पटक संकटमा परेका हुन् । रोपाइँ गर्ने समयमा पानी नपर्दा रोपाइँ नै हुन सकेको छैन भने रोपाइँ भएपनि सिँचाइ अभावमा रोपो सुकेको छ । पानी नपर्दा खानेपानीको समेत हाहाकार भएको छ । इनार वा कुवाको पानी सुक्दा जनजीवन प्रभावित भएको छ । मधेस प्रदेश सरकारले प्रदेशभर सुख्खा क्षेत्र घोषणा गरेको छ ।

रोपाइँ गर्ने समयमा पानी नपर्दा रोपाइँ नै हुन नसकेको तथा रोपाइँ भएका स्थानमा समेत सिँचाइ अभावमा धाँजा फाटेको अवस्थाबिच मधेस प्रदेश सरकारले असार २६ गते प्रदेशलाई नै सुक्खा क्षेत्र घोषणा गरेको थियो ।

तर, योपछि संकट झनै बढ्दै गयो । सुरुमा सिँचाइको समस्याबाट गुज्रिएको मधेस अहिले खानेपानीकै समस्याबाट आक्रान्त देखिन्छ । खासगरी पर्साको वीरगञ्ज महानगरपालिका तथा बारा जिल्लाका केही स्थानमा रहेका स्यालो ट्युबेल (चापाकल) मा पछिल्ला दिनमा पानी आउनै बन्द भएपछि खानेपानीकै हाहाकारको अवस्था सिर्जना भइरहेको छ । अहिलेसम्म त्यो समस्या समाधान भएको छैन ।

मधेस प्रदेशको लागि मात्रै अहिलेको खडेरी अपेक्षित भने होइन । किनभने वर्षा सुरु हुनुअघि नै जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्ष देशमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । उक्त प्रक्षेपण अनुसार नै पहाडी क्षेत्रमा वर्षा भइरहेको छ । अहिले पहाडी क्षेत्रमा रोपाइँका लागि पानीको समस्या छैन ।

त्यतिमात्रै होइन, अहिले कतिपय स्थानमा त बाढी पहिरोका कारणले करोडौंको क्षति भएको अवस्था छ । रसुवागढीको बाढीका कारण अर्बौं क्षतिको विवरण आइरहँदा अरनिको राजमार्गदेखि पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा समेत वर्षाका कारण घण्टौंसम्म राजमार्ग नै अवरुद्ध भएको थियो । त्यसैले यो वर्ष तराई मधेस क्षेत्रलाई ‘प्रकृतिले नै ठगेको’ देखिन्छ ।

यो अवस्थालाई धेरैले यो संकटलाई जलवायु परिवर्तनको असरसँग जोडेर हेर्ने गरेका छन् । पहाडमा पानी पर्दा तराई क्षेत्रमा सुक्खा अवस्था आउनुलाई जलवायु परिवर्तनको असरसँग जोडेर हेर्न पनि सकिन्छ । तर, खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक राजेन्द्र सापकोटा भने भनाइसँग आफू सहमत नभएको बताउँछन् । अहिलेको संकटका पछाडि चार पाँचवटा कारण मुख्य रहेको उनको भनाइ छ ।

‘पक्कै पनि जलवायु परिवर्तनका कारण वर्षा नहुँदा समस्या भएको हुन सक्छ । तर जसरी अहिले एक्कासी संकटको अवस्था देखिएको छ, यो जलवायु परिवर्तन मात्रैको कारणबाट यो समस्या आयो भन्ने स्कुल अफ थटमा सहमत छैन ।’ जलवायु परिवर्तनका कारण हुने समस्या क्रमिक हुने भए पनि यो अपर्झट देखिएको उनको भनाइ छ ।

त्यसोभए कसरी सुरु भयो संकट ? यसका पछाडि वर्षाको बदलिँदो चरित्र, अनियन्त्रित सहरीकरण, अनियन्त्रित जल–दोहन र औद्योगिक चाप, चुरे दोहन र नदी प्रणालीमा आएको परिवर्तन र सिँचाइ प्रणाली सम्बन्धमा नीतिगत कमजोरी जस्ता संयुक्त कारण मुख्य रहेको बताउँछन् ।

असार महिनाभर तराई क्षेत्रमा पानी परेन । समयमा पानी परेको हुन्थ्यो भने यसको प्रयोगले रोपाइँ हुन्थ्यो । आकाशे पानीले पनि पानीको धेरै माग धान्थ्यो, यसले आपूर्ति व्यवस्था सहज बनाउँथ्यो । तर, वर्षा नहुँदा आकाशे पानीको स्रोत बन्द भयो । सुक्खासँगै गर्मी बढ्दा पानीको माग झनै बढ्यो, त्यसैले खानेपानीको अभाव भयो ।

अर्को कारण भूमिगत पानीको रिचार्ज र डिस्चार्जबिचको असन्तुलन हो । समयमा पानी परेर खेत रोपाइँ हुन सकेको भए यसले जमिनमुनि पानीको रिचार्ज हुन्थ्यो । साना पम्प वा ट्युबेलको पानीका लागि यसले सहयोग गर्न सक्थ्यो । तर, अहिले त्यो रिचार्ज सिस्टम नहुँदा ह्यान्ड पम्पहरू धेरै सुकेका छन् । डीप बोरिङबाट मात्रै पानी निकाल्नसक्ने अवस्था देखिएको छ ।
त्यसो त, केही विशेष क्षेत्रमा पानीको बढी अभाव देखिनुले यसलाई सहरीकरणको कारण हो कि भनेर भन्न सकिने अवस्था रहेको समेत सापकोटा बताउँछन् । ‘अहिले वीरगञ्ज लगायत जुन ठाउँमा समस्या देखिएको छ, त्यहाँ ठुला कम्प्लेक्स र उद्योग छन् । उद्योगले डीप बोरिङबाट धेरै पानी तान्दा स्यालो ट्युबेलहरू सुकेको हुनसक्ने अवस्था हो कि भनेर अनुमान गर्न पनि सकिन्छ । तर, वास्तविकता चाहिँ अध्ययन गरेपछि मात्रै थाहा हुन सक्छ ।’

त्यसो त, पछिल्लो समय चुरेको दोहनका कारण तराई मधेस क्षेत्र मरुभूमिकरणको जोखिममा पर्दै गएको विषय नौलो होइन । खासगरी चुरे क्षेत्रमा देखिएको अत्यधिक न फडानी, ढुंगा गिटीको अत्यधिक दोहन समेत यसको प्रमुख कारणको रूपमा देख्न सकिन्छ । चुरे संरक्षित हुँदा त्यो क्षेत्रमा पर्ने वर्षालाई त्यहाँको माटोले सोसेर रिचार्जको काम गथ्र्यो । प्राकृतिक रूपमा पनि चुरेको माटो बलौटे भएकोले यसको रिचार्ज प्रणाली तराईको भन्दा राम्रो हुन्थ्यो ।

तर, अहिले दोहन बढ्दै जाँदा चुरे क्षेत्रमा भएको वर्षा बाढी बनेर सीधै खोलामा जान थालेको छ । यसले रिचार्ज प्रणाली कमजोर हुँदै गएको छ । यही कारण चुरे संरक्षण लगायतका कार्यक्रम अघि सारे पनि ती कार्यक्रमसमेत प्रभावकारी हुन सकेका छैनन् ।

यति हुँदाहुँदै पनि मधेस क्षेत्रमा बढ्दै गएको जनसंख्या र सहरीकरणसँगै जमिनबाट जथाभाबी पानी निकाल्ने क्रम भने बढ्दै गएको छ । ठुला कलकारखाना खुल्दा यसले पानीको खपत बढाउँदै लगेको छ, सहरीकरण बढ्दा प्रतिव्यक्ति पानीको खपत बढ्दै गएको छ । यसरी खपत हुने पानी नमिनबाट निकालिन्छ, तर नालाबाट नदी हुँदै निकास गरिन्छ, जमिनमा रिचार्ज हुँदैन, तर डिस्चार्जचाहिँ बढ्दै गएको छ ।

जमिनबाट कति पानी निकाल्न पाउने र त्योभन्दा धेरै निकल्दा त्यसको ‘कम्पेन्सेसन’ प्रणाली के हुने भन्ने सम्बन्धमा नीतिगत व्यवस्था नहुँदा पनि अहिलेको समस्या बढ्दै गएको हुन सक्ने सापकोटाको भनाइ छ । त्यसैले यसका लागि नीतिगत व्यवस्थाको आवश्यकता भइसकेको उनी बताउँछन् ।