३३ महिनापछि मलेसियाबाट नेपाल फर्किएका युवकले घर नपुग्दै ज्यान गुमाए
काठमाडौं—३३ महिना मलेसिया बसेर नेपाल फर्केका एक युवाको घर नपुगी बाटोमै ज्यान गुमाएका छन् । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौर घर भएका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको बुवा आमालाई भेट्न भन्दै दैलेख जाँदै गर्दा बाटोमै मृत्यु भएको हो । असार ३२ गते मात्रै नेपाल फर्किएका सुरेन्द्र केही दिन बहिनी र छोराछोरीसँग सुर्खेतमा बसेका थिए । सुर्खेतबाट घर हिडेका शाहीको दैलेखको छामघाटमा सव भेटिएको प्रहरीले जनाएको छ । उनका एक छोरा दुई छोरी रहेका छन् भने श्रीमतीले एक वर्षअघि गाउँकै अर्को पुरुषसँग विवाह गरिसकेकी छन् ।
सुरेन्द्रका आफन्तका अनुसार उनी दुई साता अघि मात्रै नेपाल आएका थिए। करिब ३३ महिना रोजगारिका लागि मलेसियामा बसेका सुरेन्द्र असार ३२ गते मात्रै नेपाल फर्किएका हुन्।
रोजगारीका लागि सुरेन्द्र २०७९ असोज ३० गते मलेसिया गएका थिए। उनले त्यहाँ करिब ३३ महिना मजदुरी गरेपछि नेपाल फर्किएका आफन्तको भनाई छ।
असार ३२ गते काठमाडौँ ओर्लिएका सुरेन्द्र दैलेखमा रहेका आमाबुवालाई भेट्ने धोकोसहित सुर्खेत आए। सुर्खेतको वीरेन्द्रनगरमा पढ्न बसेका भाइबहिनी र आफ्ना छोराछोरीसँग करिब एक साताजति बसे।
त्यसपछि उनी साउन १० गते दैलेख जान भरेर सुर्खेत बसपार्कबाट गाडी चढे। सुरेन्द्रका दाइ नाता पर्ने दिपक शाहीका अनुसार सुरेन्द्र सुर्खेतको वीरेन्द्रनगरदेखि बड्डिचौर–तल्लोडुङ्गेश्वर हुँदै चामुण्डा जानुपर्ने थियो। तर, उनले सुर्खेतको वीरेन्द्रनगरदेखि गुराँसे माथिल्लो डुङ्गेश्वर भएर आफ्नो घर जान दैलेख बजारको सडक प्रयोग गरेको पाइएको छ। उनले घर जान किन त्यो सडक प्रयोग गरे खुलिसकेको छैन।
‘हाम्रो घर आउने बाटो नभएर दैलेख बजार हुँदै आएको रहेछ। केही दिन सुर्खेतमा बहिनी र आफ्ना छोराछोरीसँग भेटेपछि घरमा आमाबुवालाई भेट्न आउँदा बाटोमै यस्तो दुःखद् घटना घट्यो,’ दिपकले भने।
दाइ दिपकका अनुसार साउन १० गते नै घरमा आइ पुग्नुपर्ने सुरेन्द्र घरमा त्यो दिन रातिसम्म पनि घर पुगेनन्। साउन ११ गते साँझ एकैचोटी उनको शव भेटिएको खबर गाउँमा फैलियो।
दिपकले भने, ‘सुर्खेतमा बहिनी र छोरा–छोरीसँग एक साता बसेर आमाबुवालाई भेट्न घर आउँदै थियो। तर, आमाबुवालाई भेट्न नपाउँदै मृत भेटिएको खबर आयो। उसको शव हेर्दा कसैले मारेर छामघाट खोलामा फालेको जस्तो देखिन्छ। घाँटीमा डोरी कसेको जस्तो पनि छ। टाउँमा गम्भीर चोट छ।’
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालले युवक मृत भेटिएको घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए।
सुरेन्द्रका चार वर्षका एक छोरा, ६ वर्ष र ८ वर्षकी दुई छोरी छन्। छोरा र एक छोरी सुर्खेतको वीरेन्द्रनगरमा बसेर पढ्छन् भने, एउटा छोरी दैलेख घरमै हजुरबाहजुरआमासँग बस्छिन्।
उनकी श्रीमती डल्ली शाहीले सुरेन्द्र रोजगारीका लागि मलेसियामै रहेको समयमा एक वर्षअघि गाउँकै अर्को पुरुषसँग विवाह गरेको आफन्तको भनाइ छ।
सुरेन्द्रको शव जिल्ला अस्पताल दैलेखको शव गृहमा राखिएको छ। आफन्तले सुरेन्द्रको हत्या भएको र हत्यामा संलग्न रहेकालाई पक्राउ गरेपछि मात्रै पोस्टमार्टम गर्न दिने भन्दै शवको पोस्टमार्टमसमेत गर्न मानेका छैनन्।