नेपाली सेनाको भष्ट्राचार काण्ड बाहिरियो, को-को हुन भष्ट्राचारी ?
काठमाडौं – नेपाली सेना भित्रको भष्ट्राचार काण्ड बाहिरिएपछि सैनिक मुख्यालयमा खैलाबैला मचिएको छ । सैनिक भर्नामा अनियमितता भएको पाइएपछि सेनाले एक्सन लिएर कारवाही सुरु गरेको छ ।
सैनिक भनामा भष्ट्राचार भएको पुुष्टि भएपछि नेपाली सेनाले भर्ना छनौट चरणमा कडा नीति अख्तियार गरेको छ । भर्नाको पहिलो खुड्किला बाधापार (शारीरिक तन्दुरुस्ती) परीक्षणदेखि नै परीक्षा लिने सैनिक अधिकारीका लागि आन्तरिक नीति लागू गरिएको हो ।
नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार भर्ना छनौट प्रक्रियाको नेतृत्व गर्ने अधिकृतको सुक्ष्म निगरानीका लागि छुट्टै पर्यवेक्षकको पनि टोली खटाइएको छ । सैन्य भर्नामा अधिकृत तहको अधिकारी बस्ने व्यवस्था छ ।
सेनाले १३ मंसिरमा जनरल समरी सैनिक अदालतले २०७३ र ०७५ सालमा सेनाको विभिन्न पदका लागि भएको भर्नामा अनियमितता भएको ठहर गर्दै १ सय ७३ जनालाई दोषी ठहर गरेर सजाय सुनाएको थियो । सेनाले अनियमितता प्रकरणसँग जोडिएका १ सय १२ जनालाई बर्खास्तसमेत गरेको थियो । यो सैनिक इतिहासकै सबैभन्दा बढी जवान तथा अधिकृत बर्खास्त भएको घटना हो ।
आर्थिक प्रलोभनमा दिएर शारीरिक योग्यता नपुगेका व्यक्तिलाई भर्ना गराइएको अनुसन्धानबाट खुलेपछि आरोपितबाट ३ करोड २२ लाख ७५ हजार रुपैयाँ जरिवाना असुल्न पनि फैसला भएको थियो ।
लहरो तान्दा पहरो आएको घटना
कोहलपुरको मध्यपश्चिम तालिम शिक्षालयबाट उत्तीर्ण भएका एक सैनिक जवानको उचाइँ ५ फिट दुई इञ्च कम भएको गाइँगुँइ चलेको थियो । त्यो सूचना जंगी अड्डासम्म आइपुगेपछि ६ जेठमा सहायक रथीको नेतृत्वमा कोर्ट अफ इन्क्वाइरी गठन भएको थियो ।
गठित समितिले देशभर कैफित भएको हुनसक्ने आशंकामा छानविनको दायरालाई फराकिलो बनाएको थियो । त्यसक्रममा सैनिक मुख्यालयदेखि देशभरका पृतना, बाहिनी, शिक्षालय, गण, गुल्म लगायतमा कार्यरत् गरी १ सय ८७ जनामाथि छानविन भएको थियो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालमा भ्रष्टाचारविरुद्ध शुन्य शहलशीलताको नीति लिएका छन् । ब्यारेकभित्र भएको गलत कार्यबारे सैनिक जवानले पनि गुनासो गर्न सकुन् भनेर थापाले नयाँ प्रयास थालेका हुन् ।
जंगी अड्डाका अनुसार अहिले मुलुकभरको हरेक सैनिक इकाइमा सिकायत पेटिका राखिएको छ । जसमा चाबी लगाएको हुन्छ भने जुनसुकै वेला जवानदेखि सैनिक उच्च अधिकारीसम्म कार्यालयभित्र भएका गलत गतिविधिबारे लेखेर राख्न सक्छन् ।
सिकायत पेटिका खोल्ने अधिकार सम्बन्धित ब्यारेकका प्रमुख वा त्यहाँका कोही पनि अधिकृतलाई हुँदैन । जंगी अड्डामा रहेको सिकायत जाँचबुझ निर्देशनालयका अधिकारीले मुलुकभरका युनिटमा पुगेर उजुरी संकलन गर्ने गर्छन् ।
‘सिकायत पेटिकाको चाबी निर्देशनालयका अधिकारीसँग मात्रै हुन्छ’, एक सैनिक अधिकारीले भने, ‘त्यही भएर हरेक अधिकारीले ढुक्कसँग गुनासो राख्ने गरेका छन् ।’ सेनाको विभिन्न युनिटको निरीक्षणका क्रममा सिकायत पेटिकामा परेका उजुरी संकलन गर्ने गरिएको सेनाले जनाएको छ ।
सिकायत पेटिकामै परेको उजुरीको आधारमा जंगी अड्डाले १० जेठमा उदयपुरको कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीलाई बर्खास्त गरेको थियो । सरकारी कोषको ४९ लाख रुपैयाँ हिनामिना गरेको आरोप पुष्टि भएपछि समरी सैनिक अदालतले उनलाई बर्खास्त गर्दै ३ महिना कैद सजाय गर्न फैसला गरेको थियो ।