अष्ट्रेलियाको नर्सिङ संकायमा समस्यै समस्या, फेरी निलम्बित भयो अर्को कलेज
अष्ट्रेलिया– अष्ट्रेलियाको नर्सिङ संकायमा एक पछि अर्को गर्दै समस्या देखिन थालेको छ । हालसालै एआईबिटी कलेज र एआइबिटी इन्टरनेशनल कलेजको सम्बन्धन खारेज गरेको आस्क्वाले फेरी अर्को कलेजलाई पनि निलम्बन गरेको छ ।
अष्ट्रेलियन स्किल क्वालिटी अथोरोटी (आस्क्वा) अष्ट्रेलियास्थित अस्ट्रेलियन हार्बर इन्टरनेशनल कलेजको नर्सिङ निकाय निलम्बन गरेको हो ।
नेपाली मुलका अष्ट्रेलियन नागरिक मातृका बिमली र सुमन भेटवालको स्वामित्वमा रहेको हार्बर कलेज अधिकांश नेपाली विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्। आस्क्वाको यो निर्णयले हार्बर कलेजमा अध्ययनरत अन्य संकायका बिद्यार्थीहरुलाई भने कुनै असर गर्ने छैन्।
नर्सिङ निकाय खारेज हुँदा भने करिव ४ सय विद्यार्थीको पठनपाठन प्रभावित हुने बताइए पनि हार्बर कलेजका प्रतिनीधीले भने यसबाट बिद्यार्थीको पढाईमा कुनै असर नपर्ने बताउछन्। ‘हाम्रो नर्सिङ संकाय निलम्बनमा परेको हो,’ हार्बर कलेजका प्रतिनीधी मुकेश धमलाले नेपाली पब्लिकसँग भने, ‘केहि समयका लागि नयाँ भर्ना गर्न मात्र रोकीएको हो।’
हार्बर कलेजमा धेरै बिद्यार्थीहरुले भर्ना लिएका कारण आस्क्वा संशकित भएको बताउदैँ उनले थपे, ‘धेरै बिद्यार्थी भए, गुणस्तरिय शिक्षा दिन सक्छ कि सक्दैन भन्ने शंका गरेर यो निर्णय आएको हो।’ आस्क्वाको निर्णयका कारण कोहि पनि विद्यार्थी र अभिभावक आत्तिनुपर्ने अवस्था नरहेको पनि उनले सुनाए।
अष्ट्रेलियन सरकारले एन्म्याकको सम्वन्धनबिना डिप्लोमा अफ नर्सिङ पढाउन नपाउने निर्णय गरेपछि कलेजहरु धमाधम निलम्बनमा पर्न थालेका छन्। यद्दपी यस निर्णय बिरुद्ध पनि कलेजले उच्च निकायमा अपील गर्न पाउने प्रावधान भने छ।