राप्रपाको विवादमा पूर्वराजा ज्ञानेन्द्र शाहको इन्ट्री

शनिबार, २४ साउन २०८२

काठमाडौं—राप्रपाको विवादमा पूर्वराजा ज्ञानेन्द्र शाहको इन्ट्री भएको छ । पार्टीभित्र अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा नेतृत्वको इतर समूहबिच विवाद चर्किदै गएपछि पूर्वराजाले इन्ट्री मारेका हुन् । प्रवक्ताबाट निकालिएका सगुन सुन्दर लावतीमार्फत उनले पार्टीभित्र संवादको सुरुवात गरेका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई लिंदेनले असहयोग गरेपछि उनी रुष्ट छन् । समितिले गरेको आन्दोलन असफल भएपछि पूर्वराजाले लिंदेन भन्दा राणालाई बढी विश्वास गरेका छन् ।

हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा गत शनिबार ललितपुरको सानेपामा एक कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजापरिवारका सदस्य र राजावादीको उल्लेख्य सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा राप्रपाको प्रवक्ताबाट निकालिएका सगुन सुन्दर लावती पनि पुगेका थिए । साँझ कार्यक्रम सकिएपछि लावतीसँग पूर्वराजाले संक्षिप्त भेटका क्रममा पार्टीभित्रको आन्तरिक विवादका विषयमा चासो राखेको सोही भेटका प्रत्यक्षदर्शी एक राजावादीले पुष्टि गरे ।

करिब १० मिनेटजति भएको भेटका क्रममा ज्ञानेन्द्रले राखेको चासोमा लावतीले समग्र विषयमा जानकारी गराएका थिए । विषेशगरी पूर्वराजाले ‘पार्टीको हाल खबर सोध्नुका साथै पार्टीले किन निकालेको र विवाद किन भएको भन्नेबारे लावतीसँग चासो राखेको’ ती राजावादीको भनाइ छ ।

यस्तै केही शीर्ष नेतासँग पनि पूर्वराजाले राप्रपाको विवादबारे चासो राखेको स्रोतको दाबी छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक रूपमा राजावादी पार्टी राप्रपाको विषयमा केही बोल्ने गरेका छैनन् । तर, उनले अनौपचारिक रूपमा राप्रपाका नेताहरूलाई भेट्दै आएका छन् । यतिमात्रै होइन उनले नै राजावादीहरूलाई एकीकृत गर्ने प्रयास गर्दै नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बनाएको आरोप लाग्दै आएको छ । तर, सुवेदी नेतृत्वको समितिले गरेको आन्दोलन असफल बन्यो । आन्दोलन असफल हुनुमा राप्रपा र सो पार्टीको नेतृत्वको असहयोग मुख्य जिम्मेवार रहेको जिकिर समेत कतिपय राजावादीले गर्दै आएका छन् । यतिमात्रै होइन उक्त आन्दोलन असफल भएसँगै राप्रपामा विवाद समेत उचाइमा पुगेको छ ।

केही अघि राप्रपाले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलाई हटाएर उनको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेसँगै विवाद उग्र बनेको हो। साथसाथै लिङ्देनको विरोधी समूहमा रहेका लावती र उपाध्यक्ष मुकुन्दश्याम गिरी समेत जिम्मेवारीबाट हटाइएका थिए ।

सुवेदीलगायतलाई लिङ्देनले विधान विपरीत हटाएको दाबीसहित निर्वाचन आयोगमा समेत उजुरी परेको छ । यसबारे आयोगको पत्रका आधारमा लिङ्देनले जवाफ पनि पठाइसकेका छन् । तर, आयोगले ठोस निर्णय भने गरिसकेको छैन ।

पूर्वराजाले आन्तरिक रूपमा राप्रपालाई सहयोग गर्ने गरेको बताइँदै आएको छ । राजसंस्था पुनर्स्थापनामा सहयोग गर्ने आशाका साथ पूर्वराजाले सहयोग गर्ने गरेको कतिपय नेताहरूको भनाइ छ । यसका साथसाथै पूर्वराजासम्बद्ध निर्मल निवासले राप्रपाभित्र हस्तक्षेप गर्ने गरेको समेत सुन्ने गरिन्छ ।

राप्रपाकै गत महाधिवेशनमा पराजित भएपछि कमल थापाले निर्मल निवासको भूमिकाले आफू पराजित भएको बताएका थिए । उक्त महाधिवेशनमा थापालाई लिङ्देनले पराजित गरेका थिए । निर्मल निवासले लिङ्देनलाई बोकेर आफूलाई हराएको थापाले सार्वजनिक रूपमै धेरै पटक दाबी गरेका थिए ।

अहिले कमल थापालाई हराएर अध्यक्ष बनेका लिङ्देनले नै राजतन्त्र फर्काउने भनेर गठन भएको सुवेदी नेतृत्वको समितिलाई सहयोग नगरेको आरोप समेत लाग्ने गरेको छ ।

आन्दोलनकै विषयमा समेत इतर समूह सुवेदीतिर धेरै खुलेको थियो भने सुरुमा त लिङ्देनले सुवेदीको समितिमा आफू नरहेको समेत जिकिर गरेका थिए । पछि लिङ्देन आन्दोलनमा त सहभागी भए तर उनको भूमिकामाथि प्रश्न गर्ने ठाउँहरू धेरै रहेको पार्टीकै नेताहरू बताउँछन् ।