कैलाली र कञ्चनपुर हावाहुरीको अपडेट : दुईको मृत्यु, अरु के के भयो क्षति ?

शुक्रबार, २४ जेष्ठ २०७६

धनगढी – कैलाली र कञ्चनपुरमा बिहीबार बेलुका आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ। कैलालीमा २ जनाको मृत्यु भएको छ भने दुबै जिल्लामा गरी एक सय जना भन्दा बढि घाइते भएका छन्।

कैलालीको टिकापुर नगरपालिका २, राजीपुरमा कुखुराको खोर भत्किँदा च्यापिएर ४७ वर्षीया लाहानु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ। कैलालीकै गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा बा३प ३८३६ नम्बरको टिपरसँग से२१प ५८२१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए।

हावाहुरीका कारण कैलालीमा ७७ जना घाइते भएका छन् भने कञ्चनपुरमा २३ जना घाइते भएका छन्। ७२ जना घाइतेको सेती अञ्चल अस्पताल, टिकापुर अस्पताल र निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। सेती अञ्चल अस्पतालमा मेडिकल सुपेरिटेन्डेन्ट डा हेमराज पाण्डेका अनुसार अस्पतालमा हाल ४० जनाको उपचार भइरहेको र ६ जनाको अवस्था गम्भीर छ।

जसमध्ये गोदावरी नगरपालिकाका जनक मल्ल, गौतम मल्ल, धनगढीका सरिता जोशी र सिक्नटा चौधरीलगायत गम्भीर घाइते छन्। घाइते जनक र गौतमको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने जोशी र चौधरीलाई थप उपचारका लागि भारत सिफारिस गरिएको छ।

हावाहुरीका कारण धेरै घरका छाना तथा जस्ता उडाएको, विभिन्न स्थानमा रुखहरु ढलाएको तथा विद्युतका पोलहरु समेत ढलाएकोले दुवै जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा समेत अवरुद्ध रहेको बताइएको छ। कतिपय क्षेत्रका सडकमा आवागमनसमेत अवरुद्ध छ। अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

हावाहुरीमा फसेका र घाइतेको उद्धारमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली परिचालित भएको थियो।

यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ। अन्य १५ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।

जिल्लाको दक्षिण क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडकका ठाउँठाउँमा रुख ढलेका कारण यातायात अवरुद्ध छ। त्यसैगरी डडेलधुराको जोगबुडा जोड्ने दैजी–जोगबुढा सडक पनि अवरुद्ध छ।

जस्तापाता, टायल र खरका छाना भएका घरका छाना उडाएका कारण ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हावाहुरीका कारण जिल्ला कारागार शाखा महिला युनिटको भान्साको छाना उडाएको छ भने जिल्ला अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ।