एक विवाहित महिलाले राखिन् पञ्चायत नै तिनछक पार्ने प्रस्ताव

सोमबार, ९ भाद्र २०८२

काठमाडौँ – एक महिलाले श्रीमान् र प्रेमीसँग आधा–आधा समय विताउन पाउनुपर्ने प्रस्ताव गरेकी छन् । भारतको रामपुर जिल्लाको एउटा गाउँकी विवाहित महिलाले पञ्चायत बसेको बेलामा महिनाको १५ दिन पतिसँग र १५ दिन प्रेमीसँग बस्न चाहेको बताएकी हुन् । पति र प्रेमीबिच यस्तो अनौठो सम्झौताको प्रस्ताव सुनेपछि पञ्चायतमा उपस्थित सबै तीनछक परेका थिए । हालसम्म ती महिला आफ्ना प्रेमीसँग १० पटक गइसकेकी छन् । अन्ततः निराश भएका पतिले हात जोड्दै प्रेमीसँगै बस्न अनुरोध गरेका छन् ।

भारतीय पत्रिका आजतकमा प्रकाशित समाचारअनुसार अजीम नगर थाना क्षेत्रकी एक युवतीको विवाह करिब डेढ वर्षअघि छिमेकी गाउँका एक युवकसँग भएको थियो । विवाहको केही महिनापछि नै उनको टाँडा क्षेत्रका अर्का युवकसँग प्रेम सम्बन्ध सुरु भयो । उनी पहिलो पटक करिब एक वर्षअघि प्रेमीसँग घरबाट भागेकी थिइन् । त्यतिवेला पञ्चायत बसेर सम्झाई–बुझाई उनलाई पतिको घर फर्काइयो । तर, त्यसपछि पनि उनी आफ्नो प्रेमीको मायाजालबाट बाहिर निस्कन सकिनन् ।

पछिल्लो एक वर्षमा ती महिला प्रेमीसँग कुल ९ पटक भागिसकेकी थिइन् । हरेक पटक पञ्चायत वा प्रहरीको सहयोगमा उनलाई घर फर्काइन्थ्यो । आठ दिनअघि उनी १०औँ पटक घरबाट गायब भइन् । र हैरान भएका पतिले अजीम नगर थानामा उजुरी दिए । प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै महिलालाई प्रेमीको घरबाट फेला पारेर पतिलाई जिम्मा लगायो । तर अचम्मको कुरा, उनी पतिको घरमा एक रात मात्र बसिन् र भोलिपल्ट बिहानै फेरि प्रेमीकहाँ गइन् ।

जब पति आफ्नी पत्नीलाई सम्झाउन प्रेमीको घर पुगे, त्यहाँ पञ्चायत बसिरहेको थियो । पञ्चायतमा पतिले हात जोडेर पत्नीलाई घर फर्कन आग्रह गरे, तर महिलाले सबैको अगाडि आफ्नो अनौठो प्रस्ताव राखिन् । उनले भनिन्, ‘म दुवैसँग बस्न चाहन्छु । महिनाको १५ दिन पतिको घरमा र १५ दिन प्रेमीको घरमा बिताउँछु ।’

महिलाको यो प्रस्ताव र पतिको जवाफ पूरै क्षेत्रमा चर्चाको विषय बनेको छ । गाउँका ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनमा यस्तो घटना पहिलो पटक देखेको बताएका छन् ।