पेरुमाथि शानदार जीत निकाल्दै ब्राजिल क्वाटरफाइनलमा

आइतबार, ८ असार २०७६

कोपा अमेरिका फुटबल अन्तर्गत आयोजक ब्राजिलले शनिबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा शानदार जित दर्ता गरेको छ । पेरुसँगको खेलमा ब्राजिल ५–० ले विजयी भएको हो।

ब्राजिलको जितमा पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल भएको हो । कासेमिरो, रोबर्टो फिरमिनो, साउसा सोएरिस, अल्भेस डा सिल्भा र विलियनले गोल गरे ।

१२ औँ मिनेटमा कासेमिरोले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । १९ औँ मिनेटमा फिरमिनोले निकै साहसी गोल गरे । उनले १९ औँ मिनेटमा बल र पोस्ट तिर हेर्दै नहेरी गोल गरेका हुन् ।

पेरुका गोल रक्षक पेड्रो गालेसीले रोक्न गोलेको बल रिबाउण्ड भएर आएको बललाई नियन्त्रमा लिएर फिरमिनोलो पोस्टतिर हेर्दै नहेरी प्रहार गरी गोल गरेका हुन् । किनकी त्यो बेला पेरुका गोलरक्षक गोलपोस्टमा थिएनन् ।

३२ औँ मिनेटमा सोएरिसले गोल गरेपछि पहिलो हाफमा ब्राजिलको अग्रता ३–० मा पुग्यो । यस्तै ५३ औँ मिनेटमा सिल्भा तथा ९० औँ मिनेटमा विलियनले गोल गरेपछि ब्राजिल ५–० ले विजयी भयो ।

पहिलो खेलमा बोलिभियालाई ३–० ले हराएको ब्राजिल दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा ५–० को जित निकालेपछि ब्राजिल सात अंकसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत शनिबार राति नै भएको खेलमा बोलिभियालाई ३–१ ले पराजित गरेको भेनेजुएला पाँच अंकसहित समूह उपविजेताका रुपमा अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ ।

चार अंक रहेको पेरुले भने तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै अघिल्लो चरण पुग्ने सम्भावना कामय रहेको भए पनि त्यसका लागि पर्खिनु पर्ने भएको छ । ब्राजिलले क्वाटरफाइनलमा समूह बी वा सी को तेस्रो स्थानमा रहेको टिमसँग प्रतिस्पर्धा गर्ने छ ।