एनआईसी एशिया बैंकद्वारा ‘एनआईसी एशिया शेयर लोन’ योजना सार्वजनिक

बिहिबार, ४ मंसिर २०८२

काठमाडौँ – एनआईसी एशिया बैंकले शून्य प्रिमियम सुविधा सहित प्रतिस्पर्धी ब्याजदरमा ‘एनआईसी एशिया शेयर लोन’ योजना सार्वजनिक गरेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ बैंकले ग्राहक–केन्द्रित र बजारमैत्री कर्जा सेवाहरू प्रदान गर्दै आएको छ। यही निरन्तरतामा बैंकले लगानीकर्ताको आवश्यकता, समयको माग र शेयर बजारको गतिशीलतालाई ध्यानमा राख्दै यस आकर्षक शेयर कर्जा योजना बजारमा ल्याएको हो।

बैंकका अनुसार, उक्त योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताका लागि अधिकतम २५ करोड रुपैयाँसम्म र संस्थागत लगानीकर्ताका लागि अधिकतम ५० करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। प्रतिस्पर्धी ब्याजदरमा सहज पहुँचयोग्य कर्जा प्रवाह गर्ने लक्ष्यसहित बैंकले यो योजना बजारमा उतारेको बताइएको छ।

यस योजनामा छिटो, सरल र पारदर्शी सेवा प्रक्रियासँगै लचिलो भुक्तानी सुविधा प्रदान गरिएको छ, जसले लगानीकर्तालाई पुँजी व्यवस्थापनमा थप सहजता दिलाउने अपेक्षा गरिएको छ। बैंकले ग्राहकहरूको कर्जा सम्बन्धी जिज्ञासा, सुझाव तथा गुनासोलाई प्रभावकारी रूपमा समाधान गर्न ‘एकद्वार प्रणाली’ अनुरूप ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको छ, जसले समयमै आवश्यक सूचना र सहयोग उपलब्ध गराउनेछ।

शेयर बजारलाई अर्थतन्त्रको एक महत्वपूर्ण पिलरका रूपमा पहिचान गर्दै, बैंकले लगानीकर्तालाई सहज र सुरक्षित तरिकाले कर्जा प्रवाह गर्ने उद्देश्य राखेको जनाएको छ। बैंकको दाबी अनुसार, शून्य प्रिमियम सुविधा र प्रतिस्पर्धी ब्याजदरको संयोजनले यस कर्जा योजनालाई बजारमा अन्य योजनाहरूभन्दा थप आकर्षक बनाउने छ।