कोपा अमेरिका कप : अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश
कोपा अमेरिका फुटबलको सेमिफाईनल खेलमा ब्राजिल अर्जेन्टिनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले अर्जेन्टिनालाई २ -० ले पराजित गरेको हो।
ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले समान १÷१ गोल गरे ।
खेलको १९ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका छन् । फिर्मिन्होको पासलाई सदुपयोग गर्दै जिससले घरेलु टोलीलाई अग्रता दिलाए । फिर्मिन्होको क्रसलाई डिबक्स भित्र अनमार्क रहेका जिससले सहजै गोल गर्न सफल रहे ।
७१ औ मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे । विजेता ब्राजिलले फाइनलमा चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।
दोस्रो हाफको सुरुवात देखिनै अर्जेन्टिनाले ब्राजिललाई दबाबमा राखेको थियो । तर, गोल भने गर्न सकेन । ब्राजिलले ७१ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दोब्बर बनायो । काउन्टर अट्याकमा अगाडी बढेको ब्राजिलका लागि रोबर्टो फिर्मिनोले गोल गरे । उनलाई जेसुसले पास उपलब्ध गराएका थिए ।
खेलको अन्तिम समय दुवै टोलीका खेलाडी पटक पटक आक्रामक रुपमा देखिएका थिए । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा रेफ्रीले ७ पहेंलो कार्ड देखाएका थिए । थप समयमा गोल हुन नसकेपछि ब्राजिल फाइनल प्रवेश गर्यो । ब्राजिलले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै प्रतियोगितामा कुनै गोल नखाएको सिलसिला कायम नै राख्यो ।ब्राजिल सन् २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो । ब्राजिलले उपाधिका लागि चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।