कुमारी बैंक र विनरक इन्टरनेशनलबीच उद्यमशीलता सुदृढीकरणका लागि सम्झौता
काठमाडौँ – दिगो विकास प्रवर्द्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि विनरक इन्टरनेशनलसँग सहकार्य सम्झौता गरेको छ । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो बैंकिङ अभ्यासलाई अघि बढाउने उद्देश्यसहित उक्त सम्झौता सम्पन्न गरिएको हो ।
सम्झौताअनुसार कुमारी बैंक र विनरक इन्टरनेशनलले संयुक्त रूपमा लक्षित समुदायमा उद्यमशीलता विकास, वित्तीय साक्षरता अभिवृद्धि, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण तथा दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्नेछन् ।
यस सहकार्यले विशेषतः स्थानीय तथा साना उद्यमीलाई व्यवसाय विस्तार र वित्तीय प्रणालीसँग जोडिन सहयोग पुग्ने विश्वास लिइएको छ ।
दिगो बैंकिङ, वित्तीय समावेशीकरण तथा स्थानीय उद्यम प्रवर्द्धनप्रति कुमारी बैंकको प्रतिबद्धतालाई पुनः स्पष्ट पार्दै दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले लक्षित समुदायको वित्तीय समृद्धि अभिवृद्धि गर्न बैंक निरन्तर प्रयत्नशील रहने बताए । उनका अनुसार निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यले दीर्घकालीन आर्थिक प्रभाव सिर्जना गर्न मद्दत गर्नेछ ।