बाढी पिडितलाई राहत दिनबाट पन्छियो संघिय सरकार
काठमाडौं – निरन्तरको वर्षापछि आएको बाढीपहिरोमा परेका पीडितलाई उद्धार गरी औषधि उपचार र राहत व्यवस्था गर्न केन्द्र सरकारले स्थानीय तहलाई आग्रह गरेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी पीडितलाई खाना, बास, औषधि उपचारको व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्रचार गरेर आग्रह गरेको हो।
मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले शनिबार पठाएको पत्रमा पीडितको उद्धार र राहत तत्कालै स्थानीय तहबाट मिलाउन आग्रह गरिएको छ । उद्धार र राहतमा सुरक्षा निकायलाई आवश्यक सहयोग गर्ने र राहत वितरण एकद्वार प्रणालीबाट गर्न मन्त्रालयले सुझाव दिएको हो।
आफ्ना स्थानीय तह कार्यक्षेत्र भएका साझेदार संस्थासँग समन्वय गरी पीडितको उद्धार र राहतमा जुट्न मन्त्रालयले आग्रह गरेको छ। विपदका घटना दिनहुँ मन्त्रालयको विपद व्यवस्थापन शाखामा पठाउन पनि भनिएको छ।
बजेटको अभाव भए केन्द्रमा लेखि पठाउने वा कुनै पनि शीर्षकबाट खर्च गर्न सक्ने गरी व्यवस्थापन गर्न आग्रह गरिएको छ । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या शनिबार अपरान्हसम्म ३० जना पुगेको छ। १८ जना बेपत्ता छन् भने १२ जना घाइते छन्।
नेपाल प्रहरीका अनुसार बिहीबारदेखि निरन्तर परेको वर्षापछिको बाढी, पहिरोमा परेका एक सय ३३ जनाको सकुशल उद्धार गरिएको छ।
बाढी, पहिरो गएका जोखिमयुक्त स्थानमा उद्धारका लागि २७ हजार आठ सय ३० जना प्रहरी परिचालन गरिएको छ। वर्षा अझै कायम रहने मौसमविद्ले जनाएअनुसार यात्रामा निस्कनु अघि सडकको अवस्था राम्रोसँग जानकारी लिएर मात्रै गन्तव्यका लागि प्रस्थान गर्न प्रहरीले आग्रह गरेको छ।
बाढीपहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी १३३ जनाको सकुशल उद्धार गरिएको छ।
कहाँ कतिको मृत्यु ?
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३÷३ जना, धादिङ र सिन्धुलीमा २÷२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एकएक गरी ३४ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा एकएक जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
साथै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी जम्मा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
सेना, प्रहरी र सशस्त्र प्रहरी डुवानबाट प्रभावित स्थानहरुमा क्षति न्यूनीकरण र उद्दारमा खटिएका छन् । काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना प्रहरी खटिएका छन् । देशभरमा २७ हजार ३ सय ८० जना प्रहरी उद्धारमा खटिएका छन् ।