गिद्द, सुनामी र गठबन्धन राजनीति : रवि लामिछानेलाई ऐनामा हेर्न सुझाव ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले “गिद्दले सिनो लुछेजस्तै देश लुछिएको छ, अब अन्तिम सुनामी आउँछ” भन्ने अभिव्यक्तिमार्फत नेपाली राजनीतिमा गहिरो भावनात्मक र नैतिक सन्देश दिन खोजेका छन्। सतही रूपमा हेर्दा यो दशकौँदेखि मौलाउँदै आएको भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र सत्ताको दुरुपयोगप्रति लक्षित कठोर आलोचना हो। तर यही भाष्यलाई गहिरिएर विश्लेषण गर्दा एउटा असजिलो प्रश्न उभिन्छ – यो सुनामी कसको विरुद्ध हो, र त्यसको अगुवाइ गर्ने व्यक्ति स्वयं त्यस लुछपुछको संस्कृतिबाट कति अलग छन् ?
“गिद्द” भन्ने उपमा प्रयोग गरेर रबी लामिछानेले देशलाई सत्ताधारी र प्रभावशाली वर्गले मृतप्रायः बनाइसकेको र त्यसको सिनोमा सबैले पालैपालो चोचो गाडेको सन्देश दिन खोजेका छन्। यो उपमा आम नागरिकको अनुभूतिसँग मेल खान्छ, किनकि धेरै नेपालीका लागि राज्य आज सेवा दिने संरचना होइन, दोहन गर्ने संयन्त्र बनेको छ। तर यही ठाउँमा नैतिक प्रश्न उब्जिन्छ—के यो लुछपुछको प्रक्रियाबाट आफू पूर्णतः बाहिर रहेको दाबी दीर्घकालीन रूपमा टिकाउ छ ?
रबी लामिछाने र रास्वपाले आफूलाई “वैकल्पिक, स्वच्छ र पुराना दलभन्दा फरक” राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएका छन्। तर सहकारी ठगी र सम्पत्ति शुद्धीकरण (money laundering) सम्बन्धी उनीसँग जोडिएका मुद्दाहरू अदालतमा विचाराधीन रहनु आफैंमा गम्भीर राजनीतिक र नैतिक प्रश्न हो। कानुनी रूपमा दोष प्रमाणित नभएसम्म कोही दोषी हुँदैन, तर राजनीति केवल कानुनी न्यूनतम मापदण्डमा चल्दैन। जब कुनै नेता अरूलाई “देश लुछ्ने गिद्द” को संज्ञा दिन्छ, तब उसमाथि आफू “दुधले नुहाएको” अर्थात् नैतिक रूपमा शतप्रतिशत शुद्ध देखिनुपर्ने दबाब स्वतः आउँछ। यहीँ रास्वपाको भाष्य कमजोर देखिन्छ, किनकि आफूविरुद्ध उठेका आरोपलाई केवल “राजनीतिक षड्यन्त्र” भनेर पन्छाउने प्रवृत्तिले नैतिक उचाइ घटाउँछ।
यस सन्दर्भमा “सुनामी” शब्दको तार्किक अर्थ बुझ्नु अनिवार्य हुन्छ। सुनामी भनेको केवल ठूलो चुनावी जीत वा सिट संख्या मात्र होइन; यो राजनीतिक रूपमा स्थापित संरचना, व्यवहार र संस्कृतिमा आमूल परिवर्तन ल्याउने शक्ति हो। साँचो सुनामीले केवल पुराना दललाई हल्लाउँदैन, उसले नयाँ शक्तिलाई पनि कठोर परीक्षणमा पार्छ। त्यस अर्थमा सुनामी भावनात्मक उभार मात्र होइन, संगठन, विचार, नेतृत्व र नीतिगत स्पष्टताको संयुक्त परिणाम हो।
अहिलेको रास्वपाको संगठनात्मक र वैचारिक अवस्थालाई हेर्दा यस्तो सुनामी सम्भव छ कि छैन भन्ने प्रश्न अझै खुलै छ। शहरी क्षेत्र, युवा वर्ग, मिडिया र सामाजिक सञ्जालमा रास्वपाको प्रभाव उल्लेखनीय भए पनि ग्रामीण तहमा संगठन कमजोर छ। पार्टीभित्र वैचारिक स्पष्टताभन्दा पनि व्यक्तिकेन्द्रित आकर्षण हावी देखिन्छ। दीर्घकालीन राज्य सञ्चालनका मुद्दा—अर्थतन्त्र, संघीयता, समावेशिता र कूटनीति—मा पार्टीको धारणा अझै प्रारम्भिक र अस्पष्ट अवस्थामा छ। यस्तो संरचनाले क्षणिक भावनात्मक लहर त ल्याउन सक्छ, तर दिगो राजनीतिक सुनामी सिर्जना गर्न गाह्रो हुन्छ।
यही पृष्ठभूमिमा रबी लामिछानेले बारम्बार दोहोर्याउँदै आएको अर्को दाबी—पुराना पार्टीहरू आउने चुनावमा घोषित वा अघोषित रूपमा एक–अर्कासँग मिल्नेछन्—लाई पनि केवल चुनावी प्रचारको भाष्य भनेर खारेज गर्न मिल्दैन। नेपाली सत्ता–राजनीतिको इतिहास हेर्दा विचारधाराभन्दा सत्ता र प्रणाली जोगाउने साझा स्वार्थ हावी हुँदै आएको देखिन्छ। फरक–फरक राजनीतिक झण्डा बोके पनि संवैधानिक निकायको भागबन्डा, भ्रष्टाचारका मुद्दामा आपसी मौनता, र चुनावी प्रतिस्पर्धामा रणनीतिक कमजोरी देखाउने अभ्यासले अघोषित गठबन्धन नेपाली राजनीतिमा अपवाद होइन, बरु परम्परा बनेको संकेत गर्छ।
नेपाली कांग्रेसको सन्दर्भमा, विशेष महाधिवेशनबाट “चुनावअघि गठबन्धन नगर्ने” प्रण लिएर आएको नेतृत्व पनि अन्ततः चुनावी अंकगणितको दबाबबाट मुक्त रहन सक्दैन। कांग्रेसको इतिहास नै यस्तो छ, जहाँ नैतिक अडान र संगठनात्मक प्रतिबद्धता अन्तिम घडीमा सिट जोगाउने रणनीतिसँग साटिएको पाइन्छ। तर यो निर्णय सभापतिको व्यक्तिगत चाहनाले मात्र सम्भव हुँदैन; कांग्रेसभित्रको असन्तुष्ट पक्ष, गुटीय शक्ति–सन्तुलन र संगठनको मनोविज्ञान निर्णायक हुन्छ। यदि असन्तुष्ट धारले “एक्लै लड्दा हार निश्चित हुन्छ” भन्ने न्यारेटिभ बलियो बनायो भने नेतृत्व बाध्य हुन्छ, तर त्यो धार स्वयं विभाजित भयो भने गठबन्धनको वैधता कमजोर पर्छ। तर विषेश महाधिवेशन पछि कांग्रेसजनमा देखिएको उत्सुकता , नयाँ नेतृत्वमाथिको भरोसा र जन लहरले कम्तीमा अहिलेसम्म नेपाली कांग्रेसमा गठवन्धन गरेर जाने सम्भावना क्षण देखिन्छ ।
माओवादी केन्द्रका प्रचण्डले नवगठित आफ्नो पार्टी नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावमा जाने सार्वजनिक घोषणा गरे पनि उनको राजनीतिक इतिहासले घोषणा र व्यवहारबीच सधैं दूरी रहेको देखाउँछ। एक्लै लडेर उदाएका प्रचण्ड पछि एक्लै टिक्न नसक्ने अवस्थामा बारम्बार गठबन्धन र सत्ता–सौदाबाजीमा फर्किएका छन्। हाल संगठन कमजोर, जनाधार सीमित र वैचारिक स्पष्टता धुमिल बन्दै गएको अवस्थामा “एक्लै चुनाव” को घोषणा आत्मविश्वासभन्दा बढी दबाब सिर्जना गर्ने रणनीति जस्तो देखिन्छ।
एमाले अध्यक्ष केपी ओलीको हकमा पनि अघोषित गठबन्धन उनको चाहनाले मात्र सम्भव हुने अवस्था छैन। एमालेको क्याडर–अनुशासन बलियो भए पनि कांग्रेससँग खुलेर मिल्दा आधारभूत कार्यकर्ता असन्तुष्ट हुन्छन् र माओवादीसँग मिल्दा वैचारिक विरोधाभास देखिन्छ। त्यसैले दीर्घकालीन वा औपचारिक गठबन्धनभन्दा पनि क्षेत्रगत, सिट–विशेषमा सीमित tactical understanding को सम्भावना बढी देखिन्छ। समग्र कम्युनिस्ट आन्दोलनको इतिहासले पनि एकता भन्दा फुट र विचारभन्दा नेतृत्व–केन्द्रित राजनीति हावी भएको देखाउँछ, जसले स्थायी गठबन्धनलाई अस्थिर बनाएको छ।
यही समग्र राजनीतिक परिवेशमा रास्वपाको उदय पुराना पार्टीहरूका लागि असहज चुनौती बनेको छ। भ्रष्टाचार, नातावाद, कृपावाद, विकासविहीनता र सत्ताको दुरुपयोगप्रति आम जनतामा बढेको वितृष्णाले वैकल्पिक शक्तिको खोजीलाई तीव्र बनाएको छ। शहरी क्षेत्र, युवा मतदाता, मिडिया र सामाजिक सञ्जालमा रास्वपाको प्रभाव उल्लेखनीय छ। तर संगठनात्मक कमजोरी, अनुभवी क्याडरको अभाव र सत्ता अभ्यासमा देखिएको अस्पष्टताले पूर्ण “सुनामी” ल्याउने दाबीलाई यथार्थबाट टाढा राख्छ। सम्भवतः रास्वपा पहिलो वा दोस्रो पार्टी नबने पनि सत्ता निर्माणमा निर्णायक ‘किङमेकर’ बन्ने सम्भावना भने बलियो छ।
आजको नेपाली मतदाता अघिल्लो पुस्ताजस्तो अन्धपार्टीगत छैन। उसले भाषण होइन नतिजा खोज्छ, वंश र सम्बन्धभन्दा इमानदारी र कार्यसम्पादनको मूल्याङ्कन गर्न थालेको छ। तर विश्वसनीय विकल्पहरूको सीमितताले मतदाता दुविधामा पनि छ। यही संक्रमणकालीन अवस्थाले एकातिर पुराना पार्टीहरूलाई अघोषित सहकार्यतर्फ धकेल्ने र अर्कोतिर नयाँ वैकल्पिक शक्तिलाई अवसरसँगै कठोर परीक्षणमा पार्ने सम्भावना बढाएको छ।
निष्कर्षतः, रबी लामिछानेले प्रयोग गरेको “गिद्द” र “अन्तिम सुनामी” को भाष्य जनआक्रोशलाई अभिव्यक्त गर्ने शक्तिशाली राजनीतिक रूपक हो, तर त्यो रूपक तब मात्र विश्वसनीय हुन्छ जब बोल्ने व्यक्ति र उनको दल स्वयं त्यस लुछपुछको संस्कृतिबाट व्यवहारमै अलग देखिन्छन्। रबी लामिछानेको दाबी पूर्ण सत्य होइन, तर त्यो पुराना पार्टीहरूको संरचनागत कमजोरी र असुरक्षालाई उजागर गर्ने राजनीतिक चेतावनी अवश्य हो। अहिलेको अवस्थामा रास्वपा न त पूर्ण रूपमा दोषमुक्त छ, न त सुनामी ल्याइसक्ने अवस्थामा। उनीहरू सम्भावनाको बिन्दुमा उभिएका छन्—जहाँ सही निर्णय, पारदर्शिता र आत्मालोचनाले राजनीतिक परिवर्तनको आधार बनाउन सक्छ, तर अतिरञ्जित भाष्य र नैतिक द्वन्द्वले त्यो सम्भावनालाई आफैं डुबाउने जोखिम पनि उत्तिकै छ।