डिजिटल लोकप्रियता कि वास्तविक जनमत ? दक्षिण एशियाको चुनावी पाठ

आइतबार, ३ फाल्गुन २०८२

दक्षिण एशियाली राजनीतिमा पछिल्लो समय “जेन–जी” अर्थात् नयाँ पुस्ताको राजनीतिक जागरण उल्लेखनीय रूपमा देखापरेको छ। बङ्गलादेश, नेपाल र थाइल्याण्डजस्ता देशहरूमा युवा–केन्द्रित असन्तुष्टि, परम्परागत दलप्रति अविश्वास र सुशासनको मागले राजनीतिक बहसलाई नयाँ दिशा दिएको छ। तर मूल प्रश्न अझै उस्तै छ, के सडकको ऊर्जा निर्वाचनको मतमा रूपान्तरण हुन सक्छ ? बङ्गलादेशको अनुभवले यस प्रश्नलाई गहिरो बनाउँछ भने थाइल्याण्डको हालैको निर्वाचनले अर्कै कोणबाट महत्वपूर्ण सन्देश दिएको छ। नेपालका लागि यी दुवै अनुभव सान्दर्भिक देखिन्छन्।

बङ्गलादेशमा २०२४ मा सरकारी जागिरको कोटा प्रणालीविरुद्ध विद्यार्थी आन्दोलन चर्कियो। आन्दोलन क्रमशः लोकतान्त्रिक निष्पक्षता, शासन सुधार र राजनीतिक प्रतिस्पर्धाको मुद्दासँग जोडियो। त्यतिबेला सत्ता सम्हालिरहेको थियो बङ्गलादेश आवामी लिग, जसको नेतृत्वमा तत्कालीन प्रधानमन्त्री शेख हसिना थिइन्। आन्दोलनले विशेषतः शहरी क्षेत्र, विश्वविद्यालयका विद्यार्थी र मध्यम वर्गबीच व्यापक समर्थन पायो। तर जब यही आन्दोलन निर्वाचनमा प्रवेश गर्‍यो, ३ सय सदस्यीय संसद्मा जम्मा ६ सिटमा सीमित भयो। यो परिणामले स्पष्ट देखायो कि आन्दोलनको भावनात्मक उभार र निर्वाचनको संरचनात्मक यथार्थ फरक कुरा हुन्।

यही चुनावको सन्दर्भमा अर्को रोचक पक्ष पनि चर्चाको विषय बन्यो, सामाजिक सञ्जालमा अत्यधिक लोकप्रियता। ढाका–९ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार तसनीम जारा (Tasnim Jara) को फेसबुकमा ७.४ मिलियनभन्दा बढी फलोअर्स थिए, जसले ठूलो डिजिटल प्रभाव देखाएको थियो। धेरैले यस्तो अनलाइन लोकप्रियतालाई चुनावी सफलताको संकेतका रूपमा व्याख्या गरेका थिए। तर त्यस्तो विशाल भर्चुअल समर्थन हुँदाहुँदै पनि उनले संसदमा जित हासिल गर्न सकिनन्। यस घटनाले स्पष्ट पारेको छ कि फेसबुक फलोअरको संख्या र वास्तविक मत परिणामबीच सिधा सम्बन्ध हुँदैन। सामाजिक सञ्जालको ठूलो फलोअर आधारले चुनाव जित्ने सुनिश्चितता दिँदैन भन्ने तथ्य बङ्गलादेशको अनुभवले व्यवहारमै पुष्टि गर्‍यो। यसले डिजिटल लोकप्रियता र वास्तविक राजनीतिक जनाधारबीचको अन्तरलाई उजागर गर्‍यो।

यस परिणामबाट नेपाली मतदाताले पनि केही महत्वपूर्ण पाठ सिक्न सक्छन्। पहिलो, आन्दोलन र निर्वाचनको गणित फरक हुन्छ : सामाजिक सञ्जालको समर्थन र सडकको भीड सधैं मतपेटिकामा रूपान्तरण हुँदैन। दोस्रो, परिवर्तनको चाहना हुँदाहुँदै पनि मतदाताले शासन सञ्चालनको क्षमता, अनुभव र नीतिगत स्पष्टता खोज्छन्। तेस्रो, शहरी केन्द्रित ऊर्जा मात्र पर्याप्त हुँदैन; ग्रामीण जनाधार, स्थानीय संगठन र दिगो पहुँच अपरिहार्य हुन्छ। चौथो, डिजिटल प्रभाव र वास्तविक जनसमर्थनबीच स्पष्ट अन्तर हुन्छ। लोकतन्त्रमा मत केवल असन्तुष्टिको अभिव्यक्ति होइन; त्यो भविष्यको शासन कसलाई सुम्पने भन्ने जिम्मेवार निर्णय पनि हो।

आन्दोलन चुनावमा खुम्चिनुको प्रमुख कारण संगठनात्मक कमजोरी थियो। आन्दोलन ऊर्जाशील र भावनात्मक हुन्छ, तर चुनाव संगठन, संसाधन, उम्मेदवार व्यवस्थापन र ग्रामीण नेटवर्कको खेल हो। शहरी केन्द्रित विद्यार्थी आन्दोलन ग्रामीण मतदातासम्म प्रभावकारी रूपमा पुग्न सकेन। साथै, मतदाताको मनोविज्ञान पनि निर्णायक रह्यो। धेरै मतदाताले परिवर्तनको पक्षमा सहानुभूति राखे पनि शासन सञ्चालनको जिम्मेवारी अनुभवहीन शक्तिलाई दिन हिच्किचाए। स्थायित्व र विकासको वाचा सत्तारूढ दलको बलियो पक्ष बन्यो।

थाइल्याण्डको ८ फेब्रुअरी २०२६ मा सम्पन्न आम निर्वाचनले अर्को महत्वपूर्ण सन्देश दियो। यस निर्वाचनमा भुमजाइथाइ पार्टी सबैभन्दा ठूलो दलका रूपमा उदायो। यसका नेता अनुतिन चार्नवीराकुलको नेतृत्वमा पार्टीले स्पष्ट अग्रता हासिल गर्‍यो। दोस्रो स्थानमा पिपुल्स पार्टी र तेस्रो स्थानमा फेउ थाइ पार्टी सीमित रहे। भुमजाइथाइ पार्टीले राष्ट्रिय सुरक्षा, सीमापारीक तनाव र राष्ट्रवादी भावनालाई चुनावी एजेन्डा बनायो, जसले ग्रामीण तथा परम्परागत मतदातालाई आकर्षित गर्‍यो। यसले देखायो कि मतदाता परिवर्तनभन्दा स्थायित्व र सुरक्षालाई प्राथमिकता दिन सक्छन्, विशेषतः जब राजनीतिक वातावरण ध्रुवीकृत हुन्छ।

नेपालको सन्दर्भमा जेन–जी आन्दोलनले भ्रष्टाचार विरोध, सुशासन र राजनीतिक उत्तरदायित्वको माग उठाएको छ। सामाजिक सञ्जालले यसको प्रभाव विस्तार गरेको छ र नयाँ पुस्तालाई राजनीतिक बहसमा सक्रिय बनाएको छ। तर यही सन्दर्भमा आफूलाई जेन–जी आन्दोलनको हकदार वैकल्पिक शक्ति भनेर प्रस्तुत गर्ने व्यक्ति र दलहरूले एउटा गम्भीर यथार्थ बुझ्न आवश्यक छ : फेसबुक पपुलिज्म, विचारविहीन राजनीति, युवालाई दिइने आकर्षक तर कार्यान्वयनहीन आश्वासन र भ्रमको खेतीले मात्रै अपेक्षित चुनावी परिणाम दिन सक्दैन। डिजिटल उत्साह, भाइरल भाषण र स्टन्टबाजीले क्षणिक चर्चा दिलाउन सक्छ, तर नीतिगत स्पष्टता, संस्थागत संरचना र दीर्घकालीन दृष्टिकोण बिना त्यो ऊर्जा दिगो मतमा रूपान्तरण हुँदैन। बङ्गलादेशकै उदाहरणले देखाइसकेको छ कि सामाजिक सञ्जालको चमक र भर्चुअल समर्थनमा मात्र आधारित राजनीति अन्ततः सीमित प्रभावमै सिमित हुन सक्छ।

नेपालको संरचना बङ्गलादेशभन्दा फरक छ। यहाँ संघीयता, बहुदलीय प्रतिस्पर्धा र गठबन्धन राजनीति प्रबल छ, जसले साना शक्तिलाई केही अवसर दिन सक्छ। तथापि चुनौती उस्तै छ : आन्दोलनलाई संगठनमा रूपान्तरण गर्नु, नीतिलाई व्यवहारमा उतार्ने स्पष्ट खाका प्रस्तुत गर्नु र ग्रामीणदेखि राष्ट्रिय तहसम्म विश्वास निर्माण गर्नु। यदि जेन–जी शक्ति केवल शहरी डिजिटल घेरामा सीमित रह्यो भने परिणाम प्रतीकात्मक मात्र हुन सक्छ।

समग्रमा दक्षिण एशियाको हालको राजनीतिक प्रवृत्तिले देखाउँछ कि आन्दोलनले बहस बदल्न सक्छ, तर निर्वाचनको गणित संगठन, नेतृत्व, स्रोत, विश्वसनीयता र जनविश्वासले निर्धारण गर्छ। मतदाताले अन्तिम निर्णय गर्दा जोखिमभन्दा स्थिरता र क्षमता रोज्ने प्रवृत्ति देखाउँछन्। बङ्गलादेशले आन्दोलनको सीमितता मात्र होइन, डिजिटल लोकप्रियताको भ्रम पनि उजागर गर्‍यो; थाइल्याण्डले स्थायित्व र राष्ट्रवादको बलियो सन्देश दियो; र नेपाल यी दुई अनुभवको बीचमा उभिएको छ। अन्ततः प्रश्न उही रहन्छ : जेन–जी केवल असन्तुष्टिको आवाज बन्ने कि नीतिगत, जिम्मेवार र सक्षम वैकल्पिक शक्ति बन्ने? यसको उत्तर नाराले होइन, व्यवहार, संगठन र जनविश्वासले दिनेछ।