कविता : हृदयको हरि !

बुधबार, ६ फाल्गुन २०८२

अहिलेसम्म कसैले
ढुंगाको मन्दिरभित्र
ईश्वरलाई भेटेको छ र ?

तर मन्दिर, मस्जिद,
चैत्य, गुम्बा र चर्चका ढोकामा
मानिसको लस्कर
कहिले सुक्दैन ।

त्यो लस्करलाई,
न मूर्तिले डोर्याएको हुन्छ,
न घण्टी, नवाज वा प्रार्थनाले,
गतिशील हुन्छ त केवलः
एउटा सानो विश्वास,
एउटा  अटुट आशा,
एउटा मौन भरोसा ।

जीवनको यात्रा
खुट्टाले होइन,
आस्थाले चल्छ ।

जब आत्माले
आफैलाई नियाल्न थाल्छ,
जब चेतनाले
भित्रै उज्यालो बाल्छ,
तब संसार
बाहिर होइन,
भित्रै सृजना हुन्छ ।

सायद त्यसैले
ऋषिहरुले तप गरे,
बुद्ध मौन बसे,
र कविहरु
युगौदेखि लेखिरहे

साक्षात सच्चिदानन्द स्वरुप
ईश्वरको वास
तिम्रो आफ्नै हृदयमा छ ।