अवदेखि अविवाहित युवतीलाई मोबाईल बोक्न प्रतिबन्ध !

बुधबार, १ साउन २०७६

नयाँ दिल्ली – संसारले हरेक क्षेत्रमा स्वतन्त्रता र जिम्मेवारीबोधको वकालत गर्दै छ । तर भारतको एउटा समुदायले भने महिलाहरुमाथि झनै कडा नियम लादेको छ ।

जागरन दैनिकका अनुसार, गुजरातको बानसकाँठा क्षेत्रको दांतीवाडा गाउँमा ठाकोर समुदायले अविवाहित महिलाहरुलाई फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । डोकोर समुदायले गत आइतबार गाउँमा बैठक बसालेर यो फैसला लिएको समाचारमा उल्लेख छ ।

ठाकोर समुदायको नयाँ नियम अनुसार, अविवाहित महिलाले फोनको प्रयोग गर्न पाउने छैनन् । यदि कुनै युवतीले यो निमयको उल्लंघन गरेको खण्डमा कडा सजाय हुनुका साथै केटीको बुवाले डेढ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्ने छ ।

यसैगरी ठाकोर समुदायको बैठकले विवाहमा हुने फिजुल खर्च समेत नियन्त्रण गर्ने निर्णय गरेको छ । विवाहका डिजे, पटाका आदिमा हुने खर्च रोकिने छ । कुनै युवतीले परिवारको अनुमति बिना विहे गरेमा त्यो पनि अपराध मानिने निर्णय गरिएको छ ।

यो नियम दांतिवडाका साथ कोटजा, गगूदा, ओडवा, हरियावाड़ा, मरपुरिया, शेरगढ़, तेलपुरा, रंदौल, रतनपुर, दनारी र वेलावास जस्ता अन्य गाउँमा पनि लागु हुने समाचारमा उल्लेख छ ।