बाढी पीडितको विषयमा देउवाको गर्जिय, सरकारलाई लगाए यस्तो आरोप

बुधबार, १ साउन २०७६

रौतहट – बाढी पीडितहरुको अवस्था बुझ्न रौतहट पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार प्रति आक्रोसित भएका छन ।

उपसभापति विमलेन्द्र निधि र रौतहटका सांसद मोहम्मद अफ्ताब आलमलाई लिएर आएका देउवाले बाढी प्रभावित गढिमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी, दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर १, २, र ५ तथा सदरमुकाम गौरको स्थलगत निरीक्षण गरे । त्यसक्रममा पीडित परिवारलाई भेटेका देउवाले प्राकृतिक प्रकोपका बेला पनि सरकार जनताप्रति संवेदशील नभएको बताए ।

सदनको नियमित एजेण्डा स्थगित गरेर बाढी पीडितलाई सहयोग गरौं भन्ने प्रस्ताव राख्दा सत्ता पक्षले सूचना टाँसेर संसद बैठक स्थगित गरेको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘विपतका बेला एकजुट हुनुपर्छ तर, सरकार आफ्नै दम्भमा हिँडेको छ ।’

भारतीय बाँधका कारण नेपाली भूभाग डुवानमा पर्दा पनि सरकारले कूटनितिक पहल नगरेको उनको आरोप छ । भारतीय बाँधका कारण रौतहटमा भएको डुबानबारे सरकारले जवाफ दिनुपर्ने देउवाले बताएका छन् ।

सरकारमै भएका मधेस केन्द्रित दलले पनि मधेसका जनताको भावनाको दुरुपयोग गरेको उनको आरोप छ । चुनावका बेला मधेसी भन्दै मत मागेका नेताहरुले जनता पाँच दिनदेखि भोको अनिदो रहँदा पनि वास्ता नगरेको उनको आरोप छ ।

देउवासँग भएको भेटमा बाढी तथा डुवान पीडितहरुले पनि सरकारले वेवास्ता नगरेको गुनासो राखेका थिए ।

जवाफमा देउवाले बाढी पीडितहरुका लागि कांग्रेसका सांसदहरुले पाँच दिन बराबरको तलब दिने निर्णय गरेको र पुर्नस्थापना तथा दिगो रुपमा समस्या समाधानका लागि संसदमा जोडदार आवाज उठाउने बताएका छन् ।

रौतहटमा बाढीका कारण ९ जनाको ज्यान गएको छ भने ७० हजार बढी प्रभावित भएका छन् ।