नेपाली कम्युनिस्ट पार्टीले घण्टीमा भोट हाल्ने नेता कार्यकर्तालाई खोजी खोजी कारबाही गर्ने

शुक्रबार, ६ चैत्र २०८२

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टी नेताहरुको खोजी गरी कारबाही गर्ने चेतावनी दिएको छ।
पार्टी संयोजक प्रचण्डले केन्द्रीय सदस्यहरुबाटै पार्टीलाई भोट नदिनेहरुमाथि कारबाही सुरु हुने र पार्टी पुनर्गठन हुने बताएका छन्। फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टीले ८ सिट मात्र जितेको छ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टी नेताहरुको खोजी थालेको छ । त्यस्ता नेता पत्ता लगाएर कारबाही गर्ने चेतावनी उसले दिएको छ ।

जनवर्गीय संगठनहरुका नेताहरुको बैठकलाई विहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरुले नै आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहालेको रिपोर्ट आएको जानकारी दिए ।

५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको रिपोर्ट आएको जानकारी गराउँदै उनले भने, ‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । कोकोले भोट हालेनन् केन्द्रीय सदस्यमध्ये, प्रदेश सदस्य, तपाईंहरुको जनवर्गीय संगठनका नेताहरु को क्षेत्रमा गएनन्, कले भोट हालेनन्, कले घण्टीमा हाले, त्यो रिपोर्ट तपाईंहरुले दिनैपर्‍यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ ।’

आफ्नो पार्टीलाई भोट नदिएर रास्वपालाई भोट हाल्नेहरुमाथिको कारबाहीको सुरुवात केन्द्रीय सदस्यबाटै हुने बताए । ‘नत्र भने पार्टी बनाउन सकिँदैन । तिनलाई कारबाही गरिन्छ । सबभन्दा पहिला सुरु गरिन्छ केन्द्रीय सदस्यबाट,’ प्रचण्डले भने ।

पार्टी पुनर्गठनको सुरुवात पनि यहीँबाट हुने प्रचण्डको भनाइ छ । ‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । हामीले भनेका छौं ठोस रिपोर्ट ल्याउनुहोस्,’ प्रचण्डले भने, ‘कोले हालेन, कोको घण्टीतिर गएको देखियो, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं अहिले । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो ।’

जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दुई दर्जन बढी कम्युनिस्ट घटक एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो ।