तीन शीर्ष नेता जोडिएको भ्रष्टाचार काण्डको छानबिन गर्न समिति गठन

आइतबार, ८ चैत्र २०८२

काठमाडौं – वाइडबढी, न्यारोबडी जहाज खरिद तथा मर्मतमा भएको भ्रष्टाचार र निगममा देखिएको बेथितिलगायतका विषयमा छानबिन गर्नका लागि सहसचिवको नेतृत्वमा छानविन समिति गठन भएको छ । नेपाल वायुसेवा निगमको बेथिति र जहाजमा भएको भ्रष्टाचारलगायतका विषयको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव मुकेश डंगोलको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

समितिका सदस्यहरूमा उपसचिव (लेखा) रमेश पौडेल, कानुन अधिकृत आयाम शर्मा, एटिसी अधिकृत सुवर्णराज भट्टराई र उपसचिव गोकर्णप्रसाद उपाध्याय रहेका छन् । मन्त्रालयले शुक्रबार नेपाल वायुसेवा निगम सुधार कार्ययोजना कार्यदेश (टिओआर)सहित समिति गठनको पत्रसमेत संयोजकलाई पठाइसकेको छ । मन्त्रालयको ५ चैतको सचिवस्तरको निर्णयानुसार निगमको बेथिति र जहाजमा भएको भ्रष्टाचारलगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवं छानबिन गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन ३० (तीस) दिनभित्र पेस गर्न अध्ययन समिति गठन गरिएको पत्रमा उल्लेख छ ।

अध्ययन समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट निगमको बेथिति र जहाजमा भएको भ्रष्टाचारलगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवं छानबिन गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन एक महिनाभित्र पेस गर्ने गरी समिति गठन गरिएको हो ।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमको टिकेटिङदेखि जहाज सञ्चालन, मर्मत–सम्भार, सेवा खरिद, कर्मचारीको खटनपटनलगायत विषयमा बेथिति देखिएका कारण त्यसको छानबिन गर्न अध्ययन समिति गठन गरिएको जानकारी दिएका छन् । ‘निगमको साख गिर्दो छ, प्रतिस्पर्धी क्षमता गुम्दो अवस्थामा छ, यस विषयमा छानबिन गर्नुपर्ने भन्दै धेरै गुनासा र सुझाव पनि आएका छन्,’ उनले भने, ‘त्यसैले निगमको प्रगतिमा देखिएका बाधक विषयहरू पहिल्याउन तथा निगमको प्रतिस्पर्धी क्षमता बढाउन अवलम्बन गर्नुपर्ने उपायबारे सुझाव दिन समिति गठन गरिएको हो ।’

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले पर्यटन सचिवलाई २८ फागुनमा पत्राचार गर्दै वायुसेवा निगममा बेथिति र भ्रष्टाचार भएको भन्दै तत्काल छानबिन समिति गठन गर्न अनुरोध गरेका थिए । ‘प्रस्तुत विषयमा नेपाल वायुसेवा निगमको व्याप्त बेथिति, भ्रष्टाचार भएको व्यहोरा यहाँ अवगत गराउँछु । विगत लामो समयदेखि वायुसेवा निगमको जहाजमा भएको भ्रष्टाचारलाई छानबिन गर्न तत्काल छानबिन समिति गठन गरी आवश्यक कारबाहीका लागि सिफारिस गरिदिनुहुन अनुरोध गर्दछु,’ गुरुङले सचिवलाई लेखेको पत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाएलगत्तै नेपाल वायुसेवा निगमको भ्रष्टाचारमाथि औपचारिक छानबिन समिति गठन भई छानबिन सुरु भएको गुरुङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘नेपाल वायुसेवा निगमभित्र जरो गाडेर बसेको बेथिति र जहाज खरिददेखि मर्मतसम्मका भ्रष्टाचारविरुद्ध प्रमाणसहितको ज्ञापनपत्र बुझाएपछि मन्त्रालयले तुरुन्तै एक्सन लिँदै उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । अब वर्षौँदेखिका काला फाइलहरू आधिकारिक रूपमै खोलिनेछन् र प्रतिवेदनका आधारमा कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ,’ उनले फेसबुकमा लेखेका छन् । उनले अब मन्त्रालयको निर्णयअनुसार ३० दिनभित्र छानबिन भई प्रतिवेदन पेस हुने, प्रतिवेदनका आधारमा भ्रष्टाचारमा संलग्नलाई काडा कानुनी कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् ।

यो विषयमा पटक–पटक संसदीय समितिमा छलफल भएपनि मिलेमत्तो विषययान्तर हुने गरेको थियो । वाइडबढी खरिदमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली र प्रचण्डको समेत नाम जोडिन थालेपछि संसदीय समितिले थप छलफल र अनुसन्धानमा चासो देखाउन छोडेको थिए ।