नेपाली सेनाका चार कमाण्डरलाई कारवाही गर्न जाँचबुझ आयोगको सिफारिस

बुधबार, ११ चैत्र २०८२

काठमाडौं—नेपाली सेनाका चार कमाण्डरलाई कारवाही गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ । गौरी बहादुर कार्की नेतृत्वको आयोगले जेन–जी आन्दोलनमा संसद भवन, सिंहदबार, शीतलनिवास र बालुवाटारमा कमान्डगर्ने नेपाली सेनाका चार कमाण्डरलाई कारवाही गर्न सिफारिस गरेको हो ।

राष्ट्रपति भवनमा सहायक रथी मनोज वैदवार, प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरवार सचिवालयमा प्रमुख सेनानी गणेश खड्का, संसद भवनमा प्रमुख सेनानी सन्तोष ढुंगेल खटिएका थिए । उनीहरुमाथि सैनिक ऐन, २०६३ को दफा १०५ अनुसार कारवाही गर्न आयोगले सिफारिस गरेको छ ।

उक्त दफामा नेपाल सरकारको स्वीकृति लिई प्रधानसेनापतिले तोकेको अन्य अधिकृतले विभागीय सजायको आदेश दिन सक्ने उल्लेख छ ।

पर्याप्त सुरक्षा, सावधानी नअपनाउँदा यी चारवटै संरचनामाथि आगलागी र क्षति भएको थियो । ‘माथि उल्लेखित चार स्थलहरूको सुरक्षा गर्न नसकेकोमा ती परिसरमा सुरक्षाको लागि खटिएका नेपाली सेनाका कमाण्डरहरू उपर कानूनी कारबाहीको लागि सैनिक ऐन, २०६३ को दफा १०५ आकर्षित हुन आउने देखिन आयो’ प्रतिवेदनमा भनिएको छ ।

‘दफा १०५ मा हेर्दा सो दफामा विभागीय सजायसम्बन्धी प्रावधान रहेकोछ । परिच्छेद ८ (सैनिक अदालतको गठन तथा अधिकार क्षेत्र। मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको क्षेत्राधिकारभित्र पर्ने देहायका दर्जाका व्यक्तिले यस ऐन बमोजिम कसूर गरेमा कसूरको गाम्भीर्यता हेरी निजहरूलाई सैनिक अदालत नबोलाई देहाय बमोजिमको अधिकारीले देहाय बमोजिम विभागीय सजायको आदेश दिन सक्नेछ। उपदफा (१) को देहाय (क) मा कमाण्डिङ्ग अधिकृत वा सो सरहका कमाण्डर वा नेपाल सरकारको स्वीकृति लिई प्रधानसेनापतिले तोकेको अन्य अधिकृतले विभागीय सजायको आदेश दिन सक्ने कानूनी प्रावधान रहेको छ’ प्रतिवेदनमा भनिएको छ ।