अभियन्ताहरुद्वारा चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण, माग कार्यान्वयन नभए संघर्ष गर्ने

बिहिबार, १२ चैत्र २०८२

काठमाडौँ – नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा समयानुकूल सुधारको आवश्यकता टड्कारो देखिएको भन्दै चिकित्सा शिक्षासँग सरोकार राख्ने अभियन्ताहरुले चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराएका छन् ।

गत आइतबार चिकित्सा शिक्षा क्षेत्रमा समयानुकूल सुधार गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै अभियन्ताहरु डा। विजय पन्त, डा। अभिषेक कुमार झा, डा. रिचल श्रेष्ठ र डा। अनिल साहले आयोगको ध्यानाकर्षण गराएका हुन् ।

अभियन्ताहरुले आयोगलाई बुझाएको सुझाव तथा ध्यानाकर्षण पत्रमा चिकित्सा शिक्षाको मापदण्ड निर्धारण, पारदर्शिता, परीक्षा नियमन र विद्यार्थी भर्ना प्रक्रियामा देखिएका कतिपय जटिलताहरूले हजारौं विद्यार्थी र अभिभावकहरूलाई प्रत्यक्ष प्रभाव पारिरहेको उल्लेख गरिएको छ ।

उनीहरुले कक्षा १२ को परीक्षा वैशाखमै सम्पन्न भए तापनि आयोगको सम्पूर्ण भर्ना र म्याचिङ प्रक्रिया सकिन झण्डै एक वर्ष लाग्ने गरेको वर्तमान अवस्था खेदजनक रहेको बताएका छन् ।

त्यस्तै नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६० प्रतिशतभन्दा बढी विद्यार्थीहरू असफल हुनुले चिकित्सा शिक्षाको मापदण्ड र गुणस्तरमा प्रश्न चिह्न खडा गरेको भन्दै स्वदेशी र विदेशी विश्वविद्यालयको मापदण्डमा एकरूपता ल्याई विद्यार्थीको समय र लगानी सुरक्षित गर्नुपर्ने माग गरिएको छ ।

अभियन्ताहरुले समग्र चिकित्सा शिक्षाका बारेमा पर्याप्त र आधिकारिक जानकारी दिन आयोगभित्रै एक आधिकारिक ‘परामर्श डेस्क’ वा हेल्प–डेस्क स्थापना गरी विद्यार्थीलाई प्रत्यक्ष सूचना दिने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

उनीहरुले स्वास्थ्य शिक्षा सुधारसँग सम्बन्धित मागहरू कार्यान्वयन नभएमा संघर्षको कार्यक्रमहरु घोषणा गर्दै आयोगको हाताभित्र विरोधस्वरूप कालोपट्टी बाँधेर सशक्त ढंगले धर्ना एवं प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन् ।

यस्तो छ अभियन्ताहरुले आयोलाई बुझाएको सुझाव तथा ध्यानाकर्षण पत्र