विद्यार्थीको समस्यामा किन मौन छ सोनसिक ? भोजराज भट्ले उठाए प्रश्न

शुक्रबार, १३ चैत्र २०८२

काठमाडौं – दक्षिण कोरियामा अध्ययनरत विद्यार्थीको समस्यामा नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)को रहस्यमय मौनतामाथि प्रश्न उठेको छ । कोरियामा समस्यामा परेका विद्यार्थीको हकहितका लागि संघर्ष गरिरहेका भोजराज भट्टले सोनसिकको रहस्यमय मौनतामाथि प्रश्न उठाएका हुन् ।

सुदूरपश्चिम समाजको युवा तथा विद्यार्थी संयोजकसमेत रहेका टिकटकर भट्टले भिडियो सन्देशमार्फत सोनसिकमाथि प्रश्न उठाएका हुन् । ‘कोरियामा अध्ययनरत विद्यार्थी साथै म सुदूरपश्चिम समाजको युवा तथा विद्यार्थी संयोजकको हैसियतले, दक्षिण कोरियामा रहेका विद्यार्थीहरूका हालका समस्याहरूमा सोनसिकको निरन्तर मौनताप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’, उनले भनेका छन् ।

विद्यार्थी संगठनको मुख्य दायित्व भनेको विद्यार्थीहरूको पक्षमा बोल्नु र आवश्यक पहल गर्नुभएको बताउँदै उनले यस्तो अवस्थामा स्पष्ट धारणा र पहल नदेखिनुले विद्यार्थीहरूमा निराशा उत्पन्न भएको दावि गरेका छन् । उनले वर्तमान नेतृत्वलाई विद्यार्थीको अपेक्षा अनुसार काम गर्न नसकेकाले राजीनामा दिन सुझावसमेत दिएका छन् ।

‘यदि वर्तमान नेतृत्वले विद्यार्थीहरूको अपेक्षा अनुसार काम गर्न सकेको छैन भने, पारदर्शिता कायम गर्दै आफ्नो भूमिकामाथि पुनर्विचार गर्नु उचित हुन्छ।’, उनले भनेका छन्, ‘आवश्यक परे, जिम्मेवारीप्रति सम्मान जनाउँदै पद त्याग गर्ने विषयमासमेत सोच्न सकिन्छ।’ उनले विद्यार्थीको हकहितमा काम नगर्ने, सम्पर्कमा नआए आफूले छुट्टै संघ खोल्ने चेतावनीसमेत दिएका छन् ।

‘म चाहन्छु सोनसिकबाटै विद्यार्थीको पक्षमा काम होस् । अर्को संघ बनाउन नपरोस् ।’, उनले भनेका छन्, ‘सबै विद्यार्थीलाई समेट्ने, विद्यार्थीको हकहितमा काम गर्ने संघको खाँचो छ । अध्यक्षले राजीनामा दिएको खण्डमा म आफै निर्वाचनमा लड्न तयार छु । यदी राजीनामा आएन, विद्यार्थीको समस्यामा ध्यान दिएन भने अर्को संघ खुल्नेछ ।’

भट्टले नेपालका शैक्षिक कन्सल्टेन्सीमार्फत नेपाली विद्यार्थीहरु ठगीएको विषयमा आवाज उठाउँदै आएका छन् । उनको आवाजलाई कोरियास्थित नेपाली दूतावासले सम्बोधन गर्दै आएको छ । ठगीको विषय उठान गर्दा भट्टमाथि चौतर्फी प्रहार भइरहेको छ । यस विषयमा सोनसिकले कुनै प्रतित्रिया दिएको छैन् ।