प्रधानमन्त्री र गृहमन्त्रीलाई महेश बस्नेतको सुझाव : प्रहरीलाई लाठी मात्रै दिनु, आन्दोलनमा मानवीय क्षति भए फेरि आफैं जेल जानुपर्ला
काठमाडौं—नेकपा एमालेका सचिव महेश बस्नेतले प्रहरीलाई बन्दुक नभई लाठी मात्र उपलब्ध गराउन प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङसँग आग्रह गरेका छन् ।
शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले आन्दोलन शुरू भइसकेकाले मानवीय क्षति हुन सक्ने भन्दै उनीहरूलाई सचेत गराएका हुन् । आन्दोलनमा मानवीय क्षति भएमा प्रधानमन्त्री र गृहमन्त्री स्वयं नै जेल जानुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।
बालेन शाह र सुधन गुरुङजी नेपाल प्रहरीलाई बन्दुक होइन, लाठी मात्र उपलब्ध गराउनुहोला । आन्दोलन शुरू भइसकेको अवस्था छ । बन्दुक प्रयोग भएमा मानवीय क्षति हुन सक्छ, जसको जिम्मेवारी अन्ततः सरकारकै नेतृत्वले लिनुपर्छ । त्यसपछि आयोग गठन भई अनुसन्धान हुँदा प्रधानमन्त्री र गृहमन्त्री सम्हाल्ने स्वयं तपाईंहरू नै जेल यात्रामा जानुपर्छ, उनले भनेका छन् ।
जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि एमाले आन्दोलित बनेको छ ।