शेरबहादुर देउवाले खुसुक्क बेचेको बूढानीलकण्ठस्थित घरलाई सरकारले नियन्त्रणमा लियो

आइतबार, १५ चैत्र २०८२

काठमाडौं—शेरबहादुर देउवाले खुसुक्क बेचेको बूढानीलकण्ठस्थित घरलाई सरकारले नियन्त्रणमा लिएको छ । एक निर्माण व्यवसायीले किनेको उक्त घर भत्काएर हाउजिङ बनाउन सुरु गरिएको थियो ।

६ रोपनी बढी क्षेत्रफलमा फैलिएको उक्त घर भत्काउँदा जेनजी आन्दोलनमा जलेको पैसाको प्रमाण नष्ट हुन सक्ने आशंकामा सरकारले घर भत्काउन रोकेर नियन्त्रण कायम गरेको हो ।

जेन–जी आन्दोलनका क्रममा २४ भदौमा बूढानीलकण्ठस्थित देउवानिवासमा लुटपाट र आगजनी गरिएको थियो । देउवाको निवासमा ठूलो परिणाममा पैसा भेटिएको, कतिपय जलेको दाबी गरिएको छ ।

वालेन्द्र शाह नेतृत्वको सरकारले फरकफरक कसुरमा दलका नेता र परिवारमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको परिवार पनि निगरानीमा परेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ परेपछि देउवा परिवारमाथि पनि सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा प्रहरीले अनुसन्धान थालेको स्रोतको भनाइ छ ।

तर, देउवा दम्पत्ती यतिखेर देश बाहिर छन् । चुनावअघि सिंगापुर गएका उनीहरू केही दिनअघि हङकङ आइपुगेका थिए ।

केही दिनमै नेपाल फर्किने दाबी उनीहरूको थियो । तर, सम्पत्ति शुद्धीकरण र जेन–जी आन्दोलन प्रकरणमा नेताहरू धमाधम पक्राउ पर्न थालेपछि देउवा दम्पत्तिको नेपाल आउने कार्यक्रम अनिश्चत बन्ने देखिएको छ ।

यसअघि रवि लामिछाने गृहमन्त्री हुँदा आरजु राणा देउवामाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न खोजिएको थियो । तर, यसपटक आरजुमाथि पनि अनुसन्धान गर्ने, सम्पत्ति शुद्धीकरणको अनुसन्धान नयाँ सरकार अगाडि बढ्ने देखिएको छ । स्रोतका अनुसार देउवाको परिवारको मसिनो गरी विवरण गर्ने काम सुरु गरिएको बुझिएको छ ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत रहने गरी २०४८ सालयताको नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्नको लागि अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय सरकारले गरेको छ ।

पहिलो चरणमा २०६२ सालयताका र दोस्रो चरणमा २०४८ सालेदेखि २०६२ सालसम्मको छानबिन गर्ने घोषणा सरकारले गरेको छ ।