प्रेमिकालाई जिउँदै जलाएको आरोपमा प्रेमी पक्राउ

सोमबार, १६ चैत्र २०८२

काठमाडौं—प्रेमिकालाई जिउँदै जलाएको आरोपमा प्रेमी पक्राउ परेका छन् । नेपालगञ्जको कोरियनपुरमा जिउँदै जलाइएकी २२ वर्षीया सिर्जना बुढाका प्रेमी गोलु ढपालीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पतिसँग सम्बन्धविच्छेद गरेर बसेकी बुढा केही वर्षदेखि स्थानीय २४ वर्षीय ढपालीसँग प्रेम सम्बन्धमा थिइन् । लिभिङ टुगेदर बस्ने उनीहरुबीच बेलाबेलामा झगडा भइरहन्थ्यो ।

चैत १३ गते आरिफले आफूलाई कुटपिट गरेको भन्दै सिर्जनाले प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीले आरिफलाई पक्राउ गरेर चैत १४ गते ‘अब उप्रान्त झगडा नगर्ने र मिलिजुली बस्ने’ शर्तमा छाडेको थियो। तर, हिरासतबाट छुटेकै रात सिर्जनालाई जिउँदै जलाएको प्रहरीको प्रारम्भीक निश्कर्ष छ । सिर्जनाकी ३ बर्षिया छोरी छिन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सिर्जनाको मृत्युपछि घटनामा संलग्नताको आशंकामा प्रेमी आरिफ ढपाली, उनकी आमा र दिदीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनामाथि गम्भीर रूपमा अनुसन्धान भइरहेको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन्।

स्थानीयले उनका प्रेमीले जिउँदै आगो लगाएर सडकमा फालेको आरोप लगाएका छन्। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि कारण खुल्न सकेको छैन। घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्र पारेको जनाएको छ।

प्रहरीले यो घटनालाई विभिन्न कोणबाट गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ। साथै, संवेदनशील विषय भएकाले सामाजिक सञ्जालमा समुदायहरूबीच द्वन्द्व फैलाउने खालका टीका–टिप्पणी नगर्न र आधिकारिक पुष्टि भएका सूचना मात्र सम्प्रेषण गर्न प्रहरीले सबैमा अपिलसमेत गरेको छ।