शेरबहादुर देउवाको घरमा लुकाएर राखेको धनसम्पत्ति सुरक्षित

सोमबार, १६ चैत्र २०८२

काठमाडौं—शेरबहादुर देउवाको घरमा लुकाएर राखेको धनसम्पत्ति सुरक्षित रहेको पाइएको छ । जेनजी आन्दोलनको निशानामा परेको देउवा परिवारको सम्पत्ति र बहुमूल्य सामानहरू घरकै सेफमा सुरक्षित भेटिएको हो ।

भदौ २४ गते देउवा परिवारलाई लछारपछार गरी कुटपीट भएको भोलिपल्ट नेपाली सेनाले पैसासहितको उक्त सेफ सुरक्षित बरामद गरेको जनआस्थाले लेखेको छ ।

उक्त सेफमा प्रधानमन्त्रीको हैसियतमा विभिन्न देशबाट प्राप्त बहूमूल्य उपहारहरू राखिएको थियो । लुटेराहरुले उठाउन र फुटाउन नसकेपछि सेफ सुरक्षित रहेको थियो ।

भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा पुराना राजनीतिक दलहरू निशाना बनाइए । शीर्ष नेताहरूको घर जलाइयो, कार्यालय तोडफोड गरियो । प्रदर्शनकारीहरूबाट ज्यानकै खतरा भएपछि नेपाली सेनाले आफ्नो हेलिकप्टरमा कतिपयको उद्धार गर्‍यो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारबाट चनबन पुर्‍याइयो । अन्य नेतालाई पनि उद्धार गरेर सेनाले ब्यारेकहरुमा सुरक्षा दिइराख्यो । तीमध्ये कतिपय अवस्था साम्य नभएसम्म ब्यारेकमै बसे । पाँचपटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवा निवासमै कुटिए ।

देउवाकी श्रीमती डा.आरजु राणालाई लछारपछार गरियो भने उपद्रवकारीले फलामको मुङ्ग्रोले हिर्काउँदा देउवाको टाउको फुट्यो । सेनाको हेलिकप्टर उद्धारका लागि पुगे पनि अवतरण गर्न पाएन । हेलिकप्टर जमिन नजिक आउँदा प्रदर्शनकारीले ढुंगा बर्साए ।

भीडले निवास घेरिएपछि सेनाले घरको कम्पाउण्डबाट भर्‍याङ र काँडेतारको बार हुँदै उनीहरूलाई उत्तर–पूर्वको खाली जग्गामा पुर्‍यायो । तैपनि, प्रदर्शनकारीले अस्पताल लैजान नदिएपछि घण्टौंसम्म घाउमा पट्टी बाँधेर खाली चौरमा राखियो । देउवा दम्पतीलाई निवासबाट निकालेर चौर र त्यसपछि शिवपुरी ब्यारेक पु¥याउने चन्दननाथ गणका लेफ्टिनेन्ट कर्णेल दीपक केसी हुन् । उनले चलाखीपूर्वक शेरबहादुर र आरजूलाई निवासबाट निकालेका थिए । भीड आगो भइरहेको अवस्थामा उनले प्रदर्शनकारीहरूलाई अल्मल्याए ।

देउवा दम्पतीलाई रेस्क्यु गर्ने क्रममा आफैं पनि ढुंगा खाए । स्रोतका अनुसार, प्रधानसेनापति अशोकराज सिग्देलको विशेष आदेशअनुसार उनी नेतृत्वको टोली देउवा निवासमा खटिएको थियो । ‘देउवा दम्पतीलाई उद्धार गर्न सानो चुनौती थिएन । बालाजुस्थित १ नम्बर बाहिनीपति सुनिलसिंह राठौरलाई खटाइएकोमा उनी पुग्नै सकेनन्, त्यसैले गणपति उद्धारका लागि कस्सिएका हुन्,’ स्रोतले भन्यो, ‘त्यहाँबाट उद्धार गरेर देउवा दम्पत्तीलाई अस्पताल हैन ब्यारेक नै लगिएको थियो । डाक्टरको टोली त्यहीँ बोलाएर उनीहरूको उपचार गरियो । ‘धेरैले छाउनी अस्पतालमा लगेको भने पनि खासमा उनीहरुलाई शिवपुरीमा राखिएको थियो । त्यहीँ नै डाक्टरहरू बोलाइएको हो । पाँच–६ दिनमा चाहिँ चेकजाँचका लागि उनीहरू अस्पताल गएका थिए’, स्रोतले भन्यो ।

२४ गते बडो मुश्किलका साथ ज्यानको उद्धार गरे तापनि भोलिपल्ट मात्र सेनाले देउवा निवासबाट बहुमूल्य सामानहरू भएको सेफ उठाएको बुझिएको छ ।