अस्तित्वको अन्तिम लडाइँमा कांग्रेस, पुनर्जीवन कि राजनीतिक विसर्जन ?
नेपालको प्रमुख लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस भित्र विकसित हुँदै गएको शक्ति संघर्ष आज केवल नेतृत्वको सामान्य प्रतिस्पर्धामा सीमित छैन । यो यसको अस्तित्व, विश्वसनीयता र भावी दिशासँग गहिरो रूपमा गाँसिएको गम्भीर प्रश्नका रूपमा उभिएको छ । चुनावपश्चात् देशमा वैकल्पिक राजनीतिक शक्तिहरूको बढ्दो प्रभाव, पुराना शक्तिहरूमाथि विभिन्न बहानामा प्रतिशोधको मनोवृत्ति र दशकौँदेखि सञ्चित भ्रष्टाचार तथा कुशासनका कारण जनविश्वासमा आएको ह्रासले कांग्रेसलाई क्रमशः राजनीतिक किनारातिर धकेल्दै लगेको अनुभूति हुन्छ।
गत फाल्गुनको आम निर्वाचनमा अपेक्षाकृत परिणाम हासिल गर्न नसक्नु र त्यसपछिको विशेष महाधिवेशनसँग सम्बन्धित विवादले पार्टीलाई झन् जर्जर बनाएको छ । यस्तो जटिल परिस्थितिमा यदि यो संकट विवेकहीन ढंगले मोडियो भने, यसले आफ्नै ऐतिहासिक विरासतलाई मेट्ने जोखिम निम्त्याउन सक्छ। यही कारणले कांग्रेस पनि कतै प्रजापरिषद जस्तै समयक्रममा विलीन भई इतिहासको एक अध्यायमा सीमित हुने त होइन भन्ने आशंका आमजनमानस तथा शुभेच्छुकहरूमा विस्तारै गहिरिँदै गएको छ।
पार्टीभित्रको विवाद अहिले संस्थागत रूपमा उत्कर्षमा पुगेको छ। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले वैधता प्रदान गरेपछि देउवा पक्ष असन्तुष्ट देखिएको छ । १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेर बहादुर देउवा तथा कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्, जसको सुनुवाइ चैत २२ गतेका लागि निर्धारण गरिएको छ।
यसैबीच देउवा पक्षीय नेताहरूले छुट्टै बैठकहरू आयोजना गरी निर्वाचनको समीक्षा, आन्तरिक विवाद तथा भावी रणनीतिबारे गहन छलफल अघि बढाइरहेका छन्। दुबै पक्ष नेताहरूले अदालतको निर्णय आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरिरहेका छन् भने अर्कोतर्फ, यदि निर्णय प्रतिकूल आयो भने के गर्ने भन्ने प्रश्नले गम्भीर बहसको रूप लिएको छ । कसैले संवादमार्फत सहमतिको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् भने केहीले आवश्यक परे समानान्तर संरचनाको विकल्पसमेत खुला राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
गगन थापा पक्षले अघि सारेको सुधारवादी एजेण्डा ः पारदर्शिता, सुशासन र युवामुखी नेतृत्व—वर्तमान सन्दर्भमा अत्यन्त सान्दर्भिक र समयोचित देखिन्छ। यस पक्षको सबलता नयाँ पुस्तालाई आकर्षित गर्ने क्षमता, नीतिगत स्पष्टता तथा जनअपेक्षासँग नजिक रहने प्रयासमा निहित छ । यद्यपि, अनुभवको सीमितता, आन्तरिक समन्वयमा देखिने चुनौती तथा कहिलेकाहीँ भावनात्मक अभिव्यक्तिको अधिकता यसको कमजोरीका रूपमा देखा पर्छन्। अर्कोतर्फ शेर बहादुर पक्षको सबलता दीर्घकालीन राजनीतिक अनुभव, सत्ता सञ्चालनमा दक्षता तथा संगठनमाथिको सुदृढ पकडमा आधारित छ। तर यसको कमजोरी यथास्थितिवादप्रति झुकाव, परिवर्तनप्रति अनिच्छा तथा कार्यकर्ताबीच बढ्दो निराशामा प्रकट हुन्छ।
यस्तो परिस्थितिमा सबैभन्दा महत्वपूर्ण आवश्यकता प्रतिस्पर्धालाई द्वन्द्वको स्वरूप दिनु होइन, बरु त्यसलाई सहकार्य र सहअस्तित्वमा रूपान्तरण गर्नु हो। पार्टीभित्र गहिरो आत्मालोचनाको संस्कार विकास गर्दै गुटबन्दी, अवसरवाद र जनताबाट क्रमशः टाढिँदै जाने प्रवृत्तिलाई सुधार गर्नु अपरिहार्य छ। साथै, संवैधानिक संस्थाप्रति पूर्ण सम्मान प्रकट गर्दै सर्वोच्च अदालतको निर्णयलाई धैर्यपूर्वक पर्खनु र त्यसलाई स्वीकार गर्ने राजनीतिक परिपक्वता प्रदर्शन गर्नु पनि उत्तिकै आवश्यक छ। तर अदालतको निर्णयपछि पार्टी एकतालाई जोगाउने कि नयाँ राजनीतिक मार्ग रोज्ने भन्ने प्रश्नले नेतृत्वलाई गम्भीर जिम्मेवारीको निर्णायक मोडमा उभ्याएको छ।
अन्ततः, नेपाली कांग्रेस इतिहासबाट पाठ सिक्ने एक निर्णायक क्षणमा आइपुगेको छ। विगतमा विलीन भएका शक्तिहरूको नियति दोहोरिन नदिन, गगन पक्षले आफ्नो ऊर्जा र सुधारवादी दृष्टिकोणलाई संस्थागत संरचनामा रूपान्तरण गर्नुपर्नेछ भने देउवा पक्षले परिवर्तनको अपरिहार्यता स्वीकार्दै नेतृत्व हस्तान्तरण, समावेशिता र नवप्रवर्तनलाई आत्मसात् गर्नुपर्नेछ। यदि यी दुई धारबीच सन्तुलन, सहकार्य र साझा दृष्टिकोणको विकास हुन सकेमा कांग्रेस पुनः सशक्त रूपमा उदाउन सक्छस अन्यथा, आन्तरिक विघटनले यसलाई पनि इतिहासको सीमित अध्यायमा सीमित पार्ने खतरा यथावत् रहनेछ।
नोट : तस्विर एआईबाट सम्पादन गरिएको हो–सम्पादक ।