अब सकिएकै हो त वामपन्थीहरुको संभावना ?

आइतबार, २२ चैत्र २०८२

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम धेरैको अनुमान विपरित आएको छ । पुराना भनिएका स्थापित पार्टीहरू नराम्रोसँग बढारिएका छन् । थुप्रै शङ्काको लाभसहित रास्वपा झण्डै दुई तिहाइको शक्तिशाली पार्टीका रूपमा स्थापित भएको छ।

आधा दर्जनभन्दा बढी वामपन्थी पार्टीहरू निर्वाचन प्रक्रियामार्फत प्रतिस्पर्धामा सहभागी भए पनि परिणामले एमाले र नेकपालाई मात्र राष्ट्रिय पार्टीका रूपमा स्थापित गरेको छ । यी दुई पार्टीको उपस्थिति पनि पहिलेको तुलनामा कमजोर अवस्थामा छ । २०६४ सालको संविधानसभा चुनावमा ५७।४ प्रतिशत रहेको कम्युनिष्ट वामपन्थी जनमत बिस्तारै ओरालो लाग्दै प्रतिनिधिसभा निर्वाचन २०८२ सम्म आइपुग्दा २१।९५ प्रतिशतमा आइपुगेको छ ।

एउटै आन्दोलन र प्रक्रियाअन्तर्गत विभिन्न धारमा शक्ति विभाजित हुनु, सत्ताको नेतृत्व गर्ने अवसर प्राप्त गर्दा जनअपेक्षा सम्बोधन गर्न नसक्नु, आन्तरिक अन्तरविरोध हल गर्न नसक्नु, परम्परागत साङ्गठानिक प्रणालीमा भर पर्नु, पुँजीवादी पार्टीहरूभन्दा पृथक नदेखिनु, नयाँ खोज अनुसन्धान गर्न नसक्नु, नेतृत्व वर्गमा अहंकारी प्रवृत्ति देखिनु, जनता, कार्यकर्ता र नेतृत्वबीचमा सञ्चारको खाडल हुनु, पार्टी संगठन रचनात्मक र सिर्जनात्मकभन्दा निर्देशनात्मक हुनु, पटकपटकका सजातीय मोर्चा र एकता टिकाउन नसक्नु, विजातीय अस्वस्थ गठबन्धन गर्नु, अन्तर्राष्ट्रिय सन्तुलन मिलाउन चुक्नु, संसद र सडकको तालमेल मिलाउन नसक्नु आदि जस्ता कारणले आजको नतिजा निम्त्याएको हो । तर यो अस्थायी पनि हुन सक्छ किनकि जनताले विकल्पको खोजीमा आफ्ना मत परिवर्तन गरिरहन्छन् । आज वामपन्थीहरूले उपयुक्त विकल्प दिन नसक्दा जनताले मत परिवर्तन गरेको देखिन्छ । तर यति भैसकेपछि पनि नचेत्ने हो भने बिस्तारै पश्चिम बङ्गालको यात्रा गर्नबाट कसैले रोक्न सक्दैन ।

जसरी रवि लामिछानेको त्यागले रास्वपाको दुई तिहाइ सम्भव भयो त्यसरी नै सबै वाम नेताले कार्यकारी भूमिकाबाट अर्को अभिभावकीय भूमिकामा जानेबित्तिकै आन्दोलनमा नयाँ रक्तसञ्चार पैदा हुन्छ ।

सबैभन्दा पहिला यात्रा र लक्ष्य मिल्ने वाम शक्ति एक ठाउँमा आउन जरुरी छ । दोस्रो, कुनै पनि वाम शक्ति अबको पाँच वर्षसम्म सशक्त प्रतिपक्षको भूमिकामा रहेर जनतासँग सहकार्य गर्नुपर्छ । यसको लागि संसदीय मोर्चा र सडकको मोर्चालाई जोड्न जरुरी हुन्छ । तेस्रो, सङ्गठनमा नयाँपन दिनको लागि युवा, प्रौढ र वृद्धको पुस्ता समायोजन हुनेगरी संगठन निर्माण गर्नु पर्दछ । चौथो, पार्टी विधानमै व्यवस्था गरी पार्टी जिम्मेवारी र राजकीय जिम्मेवारीहरूमा आवधिक नेतृत्व र जिम्मेवारीको व्यवस्था गर्नुपर्दछ ।

पाँचौ, इतिहास र क्षमताको सम्मान हुनेगरी जिम्मेवारी बाँडफाँड गर्नुपर्दछ । छैठौं अन्य पुँजीवादी पार्टीहरू भन्दा पृथक देखिने राजनीतिक कार्यक्रम सञ्चालन हुनुपर्दछ । सातौं अन्तरविरोधहरूको हल गर्ने जनवादी प्रजातान्त्रिक विधि सञ्चालन गर्नुपर्दछ, आठौं, सिद्धान्त र व्यवहारको तादात्म्यता मिलाउनु पर्छ । नवौं, सन्तुलित र प्रगतिशील परराष्ट्र सम्बन्धमा ध्यान दिनुपर्छ । यी आधारभूत कुराहरूलाई केन्द्र बनाएर आन्दोलनको पुनर्गठनमा होमिए खस्केको जनमतलाई उकास्न समय लाग्दैन । ७५ वर्षभन्दा लामो वाम आन्दोलनको इतिहासमा आजको भन्दा सयौं गुणा कठिनाइ पनि थिए । तर सबै अफ्ठ्यारा र आरोहअवरोहहरू झेलेको आन्दोलनले सही नेतृत्व पाउन नसक्दा यो सङ्कटको सृजना भएको छ ।

अहिले कोही कसैलाई दोषारोपण गरेर उम्किने अवस्था छैन । सबैका आ—आफ्ना अहंकार र दम्भका कारण यो परिस्थितिको निर्माण भएको हो तर सत्य कुरा यो होइन कि पँुजीवादले सबै समस्याको समाधान दिन सक्छ र आजको निर्वाचन नै अन्तिम हो । आवधिक निर्वाचन त समयसमयमा आइनै रहन्छ । जनताको मत परिवर्तन हरेक निर्वाचनमा भइनै रहन्छ तर जनादेशअनुसार आफ्नो भूमिकालाई पूरा गर्न सक्दा गुमेको शक्ति फेरि फिर्ता आउन सक्छ ।

वामपन्थीहरूले पाएको अहिलेको जनमत पनि कम होइन । २२ प्रतिशत हाराहारी जनताले यो आँधीहुरीको समयमा पनि वामपार्टी रोज्नु भनेको सामान्य विषय होइन । अहिले वाम पार्टीहरूको आत्मबल खस्किएको मात्र हो । पार्टीहरू मरेका छैनन्, एजेण्डाहरू मरेका छैनन्, सङ्गठन मरिसकेका छैनन् । यति ठूलो जनसमर्थन, नेता–कार्यकर्ताको पंक्ति, देशको भुँइतहसम्म फैलिएको संगठन, यति ठूलो बलिदान र ऐतिहासिक अनुभव । यी सबै वामपन्थी पुँजी हुन् ।

लोभ त्यागको भावनाले जित्नेबित्तिकै पुरानो विरासत फर्किने सम्भावना जीवितै छ । जसरी रवि लामिछानेको त्यागले रास्वपाको दुई तिहाइ सम्भव भयो त्यसरी नै आजसम्म नेतृत्वमा भएका सबै वाम नेताले एक चरण पार्टीको कार्यकारी भूमिकाबाट अर्को अभिभावकीय भूमिकामा जानेबित्तिकै आन्दोलनमा नयाँ रक्तसञ्चार पैदा हुन्छ । यसले नै आन्दोलनको रक्षा गर्न सक्छ । परम्परागत मूल्य, मान्यता र आदर्शले मात्र आन्दोलनको रक्षा हुन नसक्ने कुरा स्पष्ट भइसकेको छ । नयाँ पुस्ताको मनोविज्ञानलाई नेतृत्व गर्न सक्ने सांगठानिक विधि, आत्मनिर्भर राजनीति, पार्टीभित्र समान अवसर, उचित दण्ड र पुरस्कारको व्यवस्था, सामूहिक नेतृत्व प्रणालीजस्ता विषयलाई पन्छाएर अबको आन्दोलन अगाडि बढ्न सक्दैन ।

रास्वपाको विकास दिन दुईगुना रात चौगुना हुनुको मुख्य कारण पुरानाप्रतिको वितृष्णा र नयाँहरूको अवसरको खोजी नै हो । त्यसो भएको हुनाले रास्वपा नेतृत्वको सरकारलाई गुण र दोषको आधारमा समर्थन र आलोचना गर्दै रचनात्मक प्रतिपक्ष बनेको खण्डमा वाम आन्दोलनको भविष्य उज्ज्वल नै छ । वर्तमान सरकारले देखाउने वाम प्रवृत्तिसँग सहकार्य गर्दै अन्य विषयमा खबरदारी गर्न सके, संसदीय उपस्थितिलाई प्रभावकारी र सडकको भूमिकालाई सशक्त बनाउन सके पाँच वर्षपछि वामपन्थीहरूको संसदीय भूमिकामा परिवर्तन आउन पनि सक्छ ।

अहिलेक आत्मसमीक्षा र धैर्य गर्ने समय हो, जनतासँग माफी मागेर सहकार्य गर्ने समय हो । पटक–पटक अवसर पाएकाहरूले आराम गरेर नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्ने समय हो, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि सङ्घर्ष गर्ने समय हो । त्यसैले वामपन्थीहरू पराजयको मनोविज्ञानबाट होइन नयाँ शिक्षा र सम्भावनाको खोजीबाट अगाडि बढ्न सके प्रतिकूलतालाई अनुकूलतामा बदल्न सम्भव छ ।